‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर, मैना बनिन् बेनिशा



काठमाडौँ। भ्यालेन्टाइनको दिन पारेर चलचित्र ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै चलचित्रको पहिलो अनुहार सार्वजनिक गरेको हो ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्र आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम भइरहेको निर्देशक परिच्छेद सेनले जानकारी गराए । यो चलचित्रबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशा बाहेक चलचित्रमा सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ । चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो ।