मधुसुदनको चलचित्रमा आर्यन सिग्देल अनुबन्धित



काठमाडौँ। अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । ‘डेस्टिनेशन काठमाडौं, ब्ल्याक, निर्भय’ जस्ता चलचित्रका निर्देशक मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ चलचित्रमा उनी मुख्य भूमिकामा अनुबन्ध भएका हुन् । सोमवार दुवै पक्षबीच कागजी सम्झौता भएको छ । टाइटल गोप्य राखिएको चलचित्रमा आर्यन ‘लभर ब्वाई’ को भूमिकामा प्रस्तुत हुने निर्देशक भट्टराईले जानकारी दिए ।

आरआर फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र म्यूजिक लभस्टोरीमा निर्माण हुनेछ । चलचित्रमा आर्यनको अपोजिटमा अभिनय गर्ने अभिनेत्रीको पनि टुंगो लागेको छैन । ‘कास्ट एन्ड क्रियू’ फाइनल गरेर आउँदो जेठबाट चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्देशक भट्टराई छन् । यसअघि उनी निर्माण घोषणा गरेर राखेको चलचित्र ‘हामी तीन भाई’ को छायांकन पूरा गर्ने योजनामा छन् ।

आर्यन सिग्देलले पहिलो लकडाउनपछि चलचित्र ‘डिसेम्बर फल्स’ मा काम गरेका थिए । यो चलचित्रको अझै केही प्रतिशत छायांकन बाँकी छ । यस लगत्तै उनले कोरियोग्राफर कविराज गहतराजले निर्देशन गर्ने चलचित्र ‘मिरर’ साइन गरेका थिए । तर, कोरोनाका कारण यो चलचित्र छायांकनमा जान सकेको छैन ।