आँचल शर्माको तेलुगू फिल्म ‘हिटम्यान’ टिजर सार्वजनिक



काठमाडौं। तेलुगू सिनेमा ‘हिटम्यान’को विहिबार राजधानीमा पत्रकार सम्मेलन गरिएको छ । नेपालमा ४० प्रतिशत र भारतमा ६० प्रतिशत छायांकन गरिएको सिनेमाको नेपाल छायाँकन सकिएपछि एक टिजर देखाउँदै पत्रकार सम्मेलन गरिएको हो ।

नेपाली कलाकार र लोकेसनलाई लिएर निर्माण गरिएको तेलुगू सिनेमा ‘हिटम्यान’ कोरोनाभाइरस महामारीको स्थितीमा सुधार भएपछि नेपाल र भारतमा एकैसाथ रिलिज हुने भएको छ । नेपाली मूलका विष्णु अधिकारीको निर्देशन र दीपक अधिकारीको निर्माणमा बनेको सिनेमामा आँचल शर्मा अभिनेत्रीको रुपमा छिन् । सिनेमामा नेपाली कलाकार प्रशान्त ताम्राकार, मिलन सिजापति र अदिति शर्मा लगायतको अभिनय रहेको छ ।

बिहीवार राजधानीमा आयोजित टिजर सार्वजनिक कार्यक्रममा आँचलले पहिलो पटक विदेशी सिनेमामा काम गर्दा नौलो अनुभव भएको बताइन् । उनले भनिन्, ‘मलाई विष्णुजीले आधा घन्टामै मेरो चरित्रदेखि स्क्रिप्ट बुझाउनुभएको थियो । मलाई उहाँले निर्देशक र कलाकार दुवै हिसाबले स्क्रिप्ट भन्नुभएको थियो । उहाँको स्क्रिप्ट भनाई र लगनशिलता देखेरै मैले काम गर्न ‘ओके’ भनेको थिएँ ।

निर्देशक समेत रहेका अभिनेता विष्णु अधिकारीले नेपालको पोखरा लगायतको प्राकृतिक सौन्दर्यलाई सिनेमामा समावेश गरिएको र नेपालको पर्यटनलाई फाइदा पुग्ने बताए । सिनेमाका लागि अरु केही अभिनेत्रीहरुसँग पनि कुराकानी भएको बताउँदै विष्णुले आँचल शर्माको फेस तेलुगूमा पनि सुहाउने भएरै अनुबन्ध गरेको बताए । उनी आँचलको कामबाट आफू प्रभावित भएको बताउँछन् ।