युट्युबमा धमाधम रिलिज गरिँदै नेपाली चलचित्र, सार्वजनिक गरियो ‘श्री’



काठमाडौं, पुस ८ । पछिल्लो समय थुप्रै नेपाली चलचित्र युट्युबमा धमाधम रिलिज भईरहेका छन् । अंग्रेजी नयाँ वर्षको समयमा युट्युबमा धेरै विज्ञापन आउने हुँदा एकपछि अर्को चलचित्र सार्वजनिक गरिएको हो । चार दिनअघि मात्रै युट्युबमा चलचित्र ‘मंगलम’ सार्वजनिक गरिएको थियो । यो चलचित्र बिहीबार साँझसम्म युट्युबमा २० लाख भ्युज पाउँदै टे«न्डिङको ३ नम्बरमा छ । ‘मंगलम’ सार्वजनिक भएको चार दिनपछि
बिहीबार मात्रै युट्युबमा अर्को चलचित्र ‘श्री’ सार्वजनिक गरिएको छ ।

एभरेष्ट सूर्य बोहराको कथा तथा निर्देशन रहेको यो चलचित्रमा सन्दीप क्षेत्री र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । त्यस्तै, बुद्धि तामाङ, बसुन्धरा भुसाल, राजाराम पौडेल, रविन्द्र झा, भोला सापकोटा, सबिता गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । लकडाउनका कारण एउटै घरमा थुनिएका पात्रहरुको कथामा यो चलचित्र बनेको हो । सविता गुरुङ निर्माता, श्री पराजुली र सिन्धु पौडेल गौतम कार्यकारी निर्माता रहेको चलचित्रलाई छोटो समयमा खिचिएको हो ।

शेरबहादुर तामाङको छायांकन रहेको चलचित्रमा सुजन बडालको सम्पादन छ । चलचित्र युट्युबमा सार्वजनिक भएसँगै शीर्ष भूमिकामा रहेका सन्दीपले यस चलचित्रलाई आफ्नो कलाकारिता जीवनको एक अभिन्न उपलब्धि रहेको बताएका छन् ।

क्षेत्रीले भनेका छन्, ‘यो चलचित्र मेरो कलाकारित जिवनको एक अभिन्न उपलब्धि हो । कृपया हेरिदिनुहुन मनैदेखि अनुरोध गर्दछु ।’ चलचित्रलाई सार्वजनिक भएको छोटो समयमै राम्रो भ्युज मिलेको छ । चलचित्रको भ्युज तिव्र गतिमा बढिरहेको छ ।

हेर्नुहोस चलचित्र