चलचित्र ‘कठपुतली’ गीत सार्वजनिक (भिडियो)



काठमाडौं। यही पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कठपुतली’ को ओएसटी गीत सार्वजनिक भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयको छ । गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा फिल्मका दृश्यहरु समावेश छन् ।

यस गीतको भिडियो भिएफएक्स र एनिमेशन प्रयोग गरी बनाईएको छ । फिल्मको थिम अनुसार तयार पारिएको गीतलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ ।

परिवार परित्याग गरेको एक राजकुमार शाही दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्यहरू तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको हरर कथा यो फिल्ममा पाईनेछ । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । हरर जनरामा निर्माण भएको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगर फिल्मका निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी हुन् ।

केही दिन अगाडि सार्वजनिक भएको फिल्मको ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन् । उनी फिल्म खिच्न अष्ट्रेलियाबाट नेपाल आएका थिए । फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।