‘चपली हाइट ३’ सेन्सर पास, १६ वर्ष मुनिका दर्शकलाई अभिभावकको साथ चाहिने


चलचित्रका अभिनेत्रीद्धय स्वस्तिमा खड्का र सुपुष्पा भट्ट

काठमाडौं, २४ मंसिर । आगामी शुक्रबार अर्थात पुस २ गतेदेखि अलनेपाल प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले शुक्रबार चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट दिएको हो । १६ वर्ष मुनिका दर्शकका लागि अभिभावकको साथमा रहने गरी चलचित्र प्रदर्शनको अनुमति मिलेको हो ।

अर्जुन कुमारको निर्माण एवं निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको हो । चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

‘चपली हाइट ३’लाई दर्शकले रुचाउनेमा निर्माण टिम पूणर् विश्वस्त देखिएको छ । ‘चपली हाइट’का यस अगाडिका सिरिज सफल मानिन्छन् । कोरोना महामारीपछि केही सानो बजेटका नेपाली चलचित्र प्रदर्शनमा आएपनि दर्शकको साथ पाउन सकेका थिएनन् । अब, ‘चपली हाइट ३’ले दर्शकलाई हलसम्म लैजाने धेरैको अपेक्षा छ ।

१ घण्टा ४६ मिनेट अवधिको चलचित्रलाई ‘स्टेशन फाइभ’ले काठमाडौं उपत्यका र ‘एफडी कम्पनी’ले उपत्यका बाहिर वितरण गर्नेछ ।
चलचित्रको ट्रेलर