आधुनिक बन्न खोज्ने एक युवाको कथा ‘चिसो एस्ट्रे’ चैत ४ मा



काठमाडौँ। गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्र ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने चलचित्रलाई दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् । दिन्शले यसअघि ‘बालकृष्ण सम अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो ।

निर्देशक पाल्पालीले चलचित्रले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ‘ चलचित्रले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ,’ दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’

चलचित्रमा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ । दिव्य देव नेपाली र अंग्रेजी नाटकका उम्दा कलाकार हुन् भने नविनले ‘राहदानी’, ‘कारखाना’ आदि चलचित्रमा काम गरिसकेका छन् । निकुन श्रेष्ठ, ‘छड्के’ र ‘झिग्राना’मा रुचाइएका कलाकार हुन् ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन् । चलचित्रको सह निर्मातामा भने रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् ।

चलचित्रमा दिन्शले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् ।चलचित्रमा संगीत अजर जंगमको रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने चलचित्रमा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ । चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.