चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक



काठमाडौं, मंसिर २२ । नेपाली चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक गरिएको छ । हरर जनरामा निर्माण भएको चलचित्रको बुधवार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ । आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको केही दिनमा दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने तयारीमा निर्माण टीम रहेको छ ।

‘कठपुतली’लाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर चलचित्रका निर्माता हुन् । निर्देशक लामा लण्डन र निर्माता मगर हङकङमा भएकाले चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा उपस्थिति हुन सकेनन् । चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कार्म, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुब कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो चलचित्रलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन् । चलचित्रका कलाकारदेखि लेखिका सम्पदा मल्लसम्मले ट्रेलर रिलिज कार्यक्रममा मास्क लगाएर प्रवेश गरेका थिए । चलचित्रकी कार्यकारी निर्माता समेत रहेकी मल्लले चलचित्र हरर जनरामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । कार्यक्रममा बोल्दै उनले भनिन्, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो । चलचित्र हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ ।’ चलचित्रले भूत प्रेत, तन्त्र मन्त्रको कथा भन्नेछ ।

त्यस्तै, कलाकार मिथिला शर्माले चलचित्रमा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन् । चलचित्रले नारीलाई सशक्त रुपमा प्रस्तुत गरेको उनको भनाई छ । उनी ‘कठपुतली’लाई महिलाहरुको कथा भन्न पनि रुचाउँछिन् । नायक कार्मले हरर जनरामा यो चलचित्रले एउटा इट्टा थप्नेमा विश्वास व्यक्त गरे । चलचित्रको कथा बलियो भएकाले नै आफू आबद्ध भएको उनले बताए ।

लामो समयपछि अभिनयमा फर्किएकी उषा रजकले पहिलो पटक हरर चलचित्रमा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले अहिलेसम्म हरर चलचित्र समेत नहेरेको बताउँदै आफूलाई भुत प्रेतप्रति विश्वास रहेको बताइन् ।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’को सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ एपका सञ्चालक सागर खरेल चलचित्रमा बजार ब्यवस्थापकको रुपमा जोडिएका छन् ।
बुधबार सार्वजनिक ट्रेलर २ मिनेट २२ सेकेन्डको छ ।