चलचित्र ‘लाखे’मा सौगातदेखि सुनिलसम्म, नयाँ कलाकारलाई पनि अवसर


काठमाडौंँ, मंसिर १५ । निर्देशक सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । यसअघि ‘पासवर्ड’ निर्देशन गरेका बस्नेतको निर्देशनमा मल्टिस्टार कलाकार लिएर चलचित्र ‘लाखे’ बन्न लागेको हो ।

चलचित्रका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भईसकेका छन् । चलचित्रका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । बाँकी कलाकार अडिसन मार्फत छनौट गरिने निर्देशक बस्नेतले बताए । ‘प्रतिभा भएरपनि अभिनय अवसर नपाएका र कलाक्षेत्रमा करियर बनाउन चाँहनेलाई अवसर दिन अडिसन गर्न लागिएको हो’ निर्देशक बस्नेत भन्छन् ‘अडिसनले चलचित्र क्षेत्रमा नयाँ तथा प्रतिभावान ब्यक्ति पाउँछ भन्ने विश्वास छ ।’

चलचित्रको करिब आधादर्जन चरित्रका लागि कलाकार अडिसनमार्फत छान्न लागिएको निर्देशक बस्नेतले बताए । चलचित्रका लागि १८ देखि २४ बर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिने जनाईएको छ ।

कलाकार छनौटका लागि अडिसन आगामी शनिबार अर्थात मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा बिहान ११ ः ३० बाट राखिएको चलचित्रका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए । चलचित्रको छायाँकन भने आगामी महिना पुसबाट सुरु हुनेछ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले चलचित्रको नाम लाखे जु¥याइएको निर्देशत बताए ।