चलचित्र ‘परदेशी २’को प्रदर्शन मिति कहिले ?


-चलचित्र शुभमूहुर्तको तस्वीर

काठमाडौं, मंसिर १४ । चलचित्र ‘परदेशी २’ आउँदो वर्ष (२०७९)को दशैंभन्दा अगाडि प्रदर्शनमा नआउने भएको छ ।

निर्देशक नारायण रायमाझीले चलचित्र अर्को वर्षको दशैंभन्दा अगाडि प्रदर्शनमा आउने सम्भावना न्यून रहेको बताए । ‘चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको छ । त्यसैले आउँदो दशैंमा नै प्रदर्शन गर्ने साँेच बनाएका छौं’ उनले भने, ‘अब केही दिनमा प्रदर्शन मितिबारे आधिकारिक घोषणा गर्नेछौं ।’

निर्माता राजेश वंशल पनि चलचित्रमा दशैंको कथा जोडिएकाले त्यो भन्दा अगाडि प्रदर्शन हुने सम्भावना कम रहेको बताउँछन् । उनले भने, ‘दशैंको परिवेशसँग जोडिएको कथा भएकाले शुरुदेखि नै दशैंका लागि तयारी गरेका थियौं । यस वर्ष प्रदर्शन हुन पाएन । अब अर्को वर्ष दशैंमा नै प्रदर्शन गर्छौ होला ।’ चलचित्रको अधिकांश काम सकिएको निर्माण टिमले जानकारी दिएको छ । यो चलचित्र निर्माण घोषणादेखि नै प्रतिक्षित छ ।

सुपरहिट चलचित्र ‘परदेशी’को सिरिज, चलेका कलाकार त्यसमाथि लोकप्रिय गायक एवं मोडल प्रकाश सपूतको डेब्यू चलचित्र भएका कारण ‘परदेशी २’लाई रुपमा हेरिएको छ । नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रको निर्माता राजेश वंशल र नारायण रायमाझी हुन्् ।

चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देवेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । २०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ यो चलचित्रको छायाँकन शुरु गरिएको थियो । तर, कोरोना महामारी फैलिएपछि चलचित्र छायाँकनकै क्रममा रोकिन पुग्यो । कोरोनाको पहिलो लहर सकिएपछि बाँकी छायाँकन पूरा गरियो । र, २०७८ सालको दशैंलाई प्रदर्शन मिति तोकियो । फेरि कोरोनाको दोस्रो लहरमा निषेधाज्ञा लागू भएपछि यस वर्षको दशैंमा पनि यो चलचित्र प्रदर्शनमा आउन सकेन ।

‘परदेशी २’को कथा रमेश बिजीले तयार पारेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको एक्सन, बीबी अनुरागीको संगीत तथा गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ ।