‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक



काठमाडौं। पौष २ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । निकेश खड्काले निर्देशन गरेको चलचित्रको ट्रेलर राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । ‘चपली हाइट’को तेस्रो सिरिजको ट्रेलरले मुख्यतः चलचित्रको कथावस्तु के हो भन्ने चीजको स्थापना गर्छ । श्रद्धा नामक युवतीको हत्या कसरी भयो भन्ने रहस्य पत्ता लगाउने संघर्ष चलचित्रको मुख्य कथावस्तु हो ।

हत्या गरिएकी पात्रकी निकट साथी रहेकी स्वस्तिमालाई पक्राउ गरेर यथार्थ बुझ्न प्रहरीले गरेको केरकार र अर्को तर्फ सार्वजनिक ट्रेलरमा अर्पण थापा र आमिर गौतमको चलखेललाई चित्रण गरिएको छ । मुख्यतः हत्या घटनामा आरोपित तीनजना फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चालेको अप्रेसनको वरिपरी सिनेमाको कथा घुमेको बुझ्न सकिन्छ ।

सिनेमामा दीपाश्री निरौला प्रहरी अधिकृतको भूमिकामा देखिएकी छिन् । अर्पणलाई सिनेमामा सिरियल किलरको रुपमा चित्रण गर्न खोजिएको देखिन्छ । अर्जुन कुमारको निर्माण रहेको २ मिनेट ३६ सेकेन्ड लामो सिनेमाको ट्रेलर साइकोलजिकल थ्रीलर रुचाउने दर्शकलाई मन पर्न सक्छ ।

‘चपली हाइट’को तेस्रो सिरिजमा स्वस्तिमाका अलवा सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको मुख्य अभिनय छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.