चाम्सको ‘गोर्खा वारियर–२’ मा अडिसनबाट ३४ कलाकार छानिए



काठमाडौँ। चलचित्र ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन अब सुरु हुने भएको छ । यो चलचित्रको लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्धन्द्ध निर्देशक हिमाल केसी, छायाँकार सुदीप बराल, मुख्य सहायक निर्देशक गिरीराज घिमिरेको टिमले अडिसनबाट ३४ जना कलाकार चयन गरेको हो । छानिएका मध्य अधिकाँस कलाकार गोर्खा सैनिकको भूमिकामा हुनेछन् ।

यो चलचित्रको लागि आबस्यक गोर्खा सैनिक देखि विभिन्न पात्रको भूमिकाको लागि अडिसन राखिएको निर्देशक चाम्सले बताएका छन् । सो अडिसनमा सहभागी भएका एक सय भन्दा बढी व्यक्ती मध्यबाट ३४ जना चयन भएका हुन् ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई छन् । गोर्खा वारियर २ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नवनायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दै छन् ।

यो चलचित्रको छायाँकन कोभिड–१९ र विभिन्न प्राविधिक कारणले यस अघि रोकिएको थियो । अब बाँकी छायाँकन तिहारको लगत्तै पछिबाट सिन्धुलीदेखि सुरु हुने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । त्यसपछि बाँकी छायाँकनको लागि युनिट तनहुँ जानेछ । यस अघि सोलुखुम्बु सहित नेपालका केही स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।

नेपालको छायाँकन सकिएपछि बेलायत, भारत, मलेशिया लगायतका देशमा बाँकी छायाँकन सम्पन्न गरिने पनि निर्देशक चम्सले जानकारी गराएका छन् । यो चलचित्रको छायाँकनको लागि लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री दशैं अघि नै नेपाल आईसकेको छ ।

यो चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।

चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले आफुले गोर्खा वारियर–२ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए । अब सिनेमा हलमा पनि गोर्खा वारियर २ रिलिज भएपछि मात्र गोर्खा वारियरको निर्माण सुरु हुने छ । यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिने छ ।