अभिनेता हमालको स्वरमा पहिलो गीत ‘मन बुढो भएन’ (भिडियो)



काठमाडौं। अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडियो सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो । यो गीत नै हमालले गाएको पहिलो अफिसियल गीत हो । गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।

गीतमा हमालको साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर रहेको छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको यस गीतको भिडियोमा हमालसँग रेश्मा घिमिरेले अभिनय गरेकी छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

गीतको शिर्षक सम्बन्धित प्रश्नमा हमालले आफुलाई जिस्क्याउने गीत बनेको बताए । ‘उमेर आफ्नो रफ्तारमा गईरहेपनि मन बुढो भने कहिल्यै हुँदैन । यो गीतको पोस्टर शेयर गरेपछि उमेर धेरै भएका शुभचिन्तकहरुले हौसला मिलेको बताउनुभयो । मलाई पनि लाग्छ मन बुढो कहिल्यै हुँदैन’, उनले भने, ‘आफ्नो उमेर घटाएर कहिल्यै घट्दैन तर उमेर भन्दा बढि नदेखिन आफ्नो जीवनशैली मिलाउनै पर्छ’ ।