राजेश,अनुप र पलको ‘सत्यम’ छायाँकनको तयारीमा



काठमाडौँ। राजेश हमाल,अनुप बिक्रम शाहि,पल शाह लगायतको प्रमूख अभिनय रहने चलचित्र ‘सत्यम’को छायाँकन स्थलका केहि तस्वीरहरु सार्वजनिक गरिएका छन् । माथिल्लो मनांग, मुस्तांग, पोखरा तथा काठमाडौमा छायांकन हुने यो चलचित्रको पोखरास्थित छायांकन सेट निर्माण हुदै गरेको तस्वीरहरु सार्वजनिक गरिएको हो ।

चलचित्रका निर्देशक शंकर कार्कीका अनुसार यो सेटमा हेलिकोप्टर क्र्यासको दृश्यदेखी ठुला भवनहरुको समेत दृश्यहरु छायांकन हुनेछन् । ‘मनांग, मुस्तांग, पोखराको आउटडोर दृश्यहरु तथा काठमाडौंका केहि दृश्यहरु बाहेक अन्य सबै सोहि सेटमा छायांकन गर्दैछौं । हाम्रो लामो समयदेखीको तयारी यसकारण पनि चलिरहेको छ’, कार्कीले बताए ।

चलचित्रका निर्माता रेशम सापकोटाले यो सेट अहिलेसम्मकै ठुलो हुनसक्ने बताए । ‘हामीले छायांकन गर्ने सेट सम्भवत नेपाली चलचित्र इतिहासकै ठुलो सेट हुनसक्छ । आजसम्म मैले यति ठुलो सेटमा छायांकन भएको जानेको छैन । हामीले चलचित्रको गुणस्तरियताको लागि कुनै कसर बाँकी राख्नेछैनौं’, सापकोटाले बताए । सापकोटाका अनुसार यो सेट झण्डै एक सय मिटर लम्बाई तथा पचास मिटर चौडाईको रहेको छ ।

महानायक हमालले समेत यो सेटको निरिक्षण गरिसकेका छन् । दशैं लगत्तै वर्कशप र तिहार पछि छायांकनमा जाने तयारी सहित काम भईरहेको बताईएको छ । यो चलचित्रको महत्वपूर्ण भूमिकाको लागि अभिनेता अभय बराल पनि अनुवन्ध भइसकेको निर्देशक कार्कीले बताए । दुई नायिकाहरुसँग भने सम्झौताको क्रममा रहेको उनको भनाई छ ।

त्यस्तै, ‘सत्यम’मा अभिनय गर्ने मध्यम भूमिकाका कलाकारहरुको लागि आह्वान गरिएको अडिशनबाट केहि कलाकारहरु छानिएका छन् । जसको लागि काठमाडौं र पोखरामा फिजिकल र भर्चुअल अडिशनबाट एक हजार जना भन्दा बढिको अडिशन भएको थियो । काठमाडौंबाट बालकलाकारहरु प्रिन्स प्रसिद्द सिं थापा, नेरिस्का स्थापित र सूजन परियार छानिएका छन् । महिला कलाकाहरु अन्विसा खड्की, बेदना राई, अनुजा सिंह, प्रतिष्ठा थापा, मरिया कार्की, मुस्कान वाग्ले, अस्मी थापा छानिएका छन् भने पुरुष कलाकारहरु प्रविन चापागाईं, सागर खनाल, अमृत दाहाल, मनोज थापामगर, माधव अधिकारी, लक्ष्मण अधिकारी, समराज्य कार्की, कैलाश रावल, प्रतिक उप्रेती, प्रिन्स विश्वकर्मा, संजोग रसाईली, विनायक गौतम, अनुज शर्मा, गौरभ कपूर र मोख्तर खान छानिएका छन् ।

त्यस्तै, पोखराबाट अर्जुन सिं बोहरा, निश्चल बिक्रम पौडेल, सुनिल ढुंगाना (शर्मा), आदेश जी.सी., सरिता दानकुटी, केदारनाथ पौडेल, सोफी धरेल, मनोज सुनार, किसान सुनार, नवराज ढकाल, अनिल कार्की, इश्वर के.सी., वरदान लोहनी, रिजेश थापा लगायतका छानिएका छन् । पोखरा र त्यस आसपासमा छायांकन बढि दिन हुने भएको कारण नाम उल्लख गरिएका बाहेक अन्य १५ जनालाई पनि मध्यम भूमिकाको लागि छनौट गरिएको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रमा हमाल नै मूख्य पात्र (सत्यम) हुन् भने अनुप बिक्रम शाही भिलियनको रुपमा रहनेछन् । यसअघि चलचित्र ‘सौर्य’मा एकसाथ देखिएका राजेश र अनुपको अभिनयलाई लिएर चलचित्र उद्योगमा व्यापक चर्चा छ । लामो समयपछि चलचित्रमा फर्कन लागेका हमाल र भिलियनको रुपमा अत्याधिक रुचाईएका अनुपको भिडन्तको दर्शकमाझ व्यग्र प्रतिक्षा रहेको छ । चलचित्रमा महानायक हमालका चार फरक लुक्स रहने, अभिनेता अनुप बिक्रम शाहीको दमदार अभिनय तथा अभिनेता पल शाहले अलग लुक्समा अभिनय गर्ने बताइएको छ ।

शंकर कार्कीले निर्देशन गर्ने ‘सत्यम’लाई रेशम सापकोटाले लेखेका हुन् । यो चलचित्रमा निर्माता समेत सापकोटा नै हुन् भने एशोसियट निर्माता गणेश पौडेल हुन् । सह निर्माताहरु रेशम गौतम, सुबास भुर्तेल, श्याम मल्ल र कृष्ण अधिकारी हुन् । चलचित्रमा योगेश काजीको संगीत रहनेछ भने ब्याकराउण्ड म्युजिक कुटुम्ब ब्याण्डको रहनेछ । सह संगीतकार गणेश पौडेल हुन् । दुई गीतमा रेशम सापकोटा र एक गीतमा बिष्णु निरिशको शब्द रचना रहेको छ । चलचित्रका गीतमा अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको स्वर रहनेछ ।

चलचित्रको डिओपीमा बिदुर पाण्डे ‘नबिन’, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामांग रहनेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व रहनेछ । मुख्य सहायक निर्देशकहरुमा शंकर धिताल र रामशरण कोइराला रहेका छन् ।