अभिनेता दिलिप कुमारको निधन



एजेन्सी। बलिउडका चर्चित अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे निधन भएको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो समय उनी गम्भीर विरामी थिए । एक महिनाको बीचमा उनलाई दुईपल्ट अस्पताल भर्ना गर्नुपरेको थियो । दिलिप कुमारको निधनले हिन्दी सिनेमाका एउटा युगको अन्त्य भएको छ । उनको निधनको खवर उनकै ट्वीटर ह्याण्डिलबाट पुष्टि गरिएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धीलगायतले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

हाल पाकिस्तानमा पर्ने पेशावरमा सन् १९२२ डिसेम्बर ११ मा जन्मिएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले २२ वर्षको उमेरमा चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनले सन् १९४४ मा रिलिज भएको ज्वारभाटा नामक चलचित्रमा उनले पहिलोपल्ट काम गरेका हुन् ।

पाँच दशकको चलिचित्र करिअरमा उनले झण्डै पाँच दर्जन चलचित्रमा अभिनय गरे । उनले अभिनय गरेका शहीद, मेला, बाबुल, फुटपाथ, देवदास, मुगल ए आजम, गंगा जमुना लगायतका चलचित्र हिट भएका थिए ।