उमेश रेग्मीको ‘सुनसरी इनरुवा’ सार्वजनिक



सेलिब्रेटी नेपाल। सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उदेश्यका साथ गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गरेका थिए । त्यहि एल्बमको शीर्ष गीतको रिमेक गरी नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । उमेशको शब्द र सङ्गीतमा गायक रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा रिमेक भर्सन सार्वजनिक भएको हो । गीतका शब्दहरुमा इनरुवा र आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ भने भिडियोमा इनरुवा बजारसहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ । भिडियोलाई जीवन्त बनाउन उमेशले कलाकारहरुको टोलिलाई नै इनरुवा उतारेर छायाँकन गराएका थिए ।

भिडियोमा गायक रामकृष्ण ढकाल र नायिका रिमा विश्वकर्माले अभिनय गरेका छन् । युवराज वाईबाको निर्देशन रहेको भिडियोको छायाँकन निलास पौडेलले र सम्पादन विकास दाहालले गरेका हुन् । गीतको एरेञ्ज महाराज थापाले गरेका हुन् । गोत्र इन्टरटेनमेन्ट च्यानलबाट भिडियो सार्वजनिक भएको हो । हाल अमेरिकामा रहेका उमेशले एकपछि अर्को नयाँ गीत सार्वजनिक गरिरहेका छन् ।

यसअघि उनले बाबाको दुई पैसे जागिर बोलको गीत सार्वजनिक गरेका थिए । दर्शक स्रोताले उक्त गीत र भिडियो मन पराएका थिए । उनी आफै गाउने, लेख्ने र सङ्गीत भर्ने क्षमता राख्छन् । तर पछिल्लो समय उनले सङ्गीत र शब्दमा जोड दिइरहेका छन् । यसअघि उनको नयाँ गीत ‘एक्का बास्सा मिस्सी’ को भिडियो बजारमा आएको थियो । त्यसअघि उनको ‘वैशाख नि बित्यो’ बोलको अर्को भिडियो सार्वजनिक भएको थियो । त्यसैगरी उमेशकै सङ्गीत र टीका प्रसाईंको स्वरमा रहेको गीत ‘मेरो याद’ को भिडियो पनि सार्वजनिक भएको थियो । यो गीतमा उमेशले पनि टीकालाई स्वरमा साथ दिएका थिए ।


उमेशले २०६५ सालमै गीत रेकर्ड गराएका थिए । त्यसो त उमेशले धरानलाई कर्मक्षेत्र बनाएर केही वर्ष काम गरे । त्यसबेला ६ वटा गीतको एल्बम् ‘युमेश’ बजारमा ल्याएका थिए । उमेशको सङ्गीतमा वरिष्ठ गायक दीप श्रेष्ठदेखि रामकृष्ण ढकाल, नविन के भट्टराई, अञ्जु पन्त, विश्व नेपाली, मेलिना राई, बानिका प्रधान, नवीन रनपाल लगायतले स्वर दिएका छन् । उमेशले हालै सार्वजनिक ‘सुनसरी इनरुवा’ बोलको गीतलाई आफ्नो महत्वपूर्ण गीतका रुपमा लिएका छन् । उनी भन्छन्, ‘यो गीत स्रोता दर्शकले मन पराईदिनु हुन्छ भन्नेमा विश्वस्त छु ।’