मिलनको ‘वीर विक्रम २’ हिन्दि भाषामा पनि



काठमाडौं। कुनै समय नेपाली चलचित्रको छायांकन पछि त्यसको पोस्ट प्रोडक्सनको काम भारतको मुम्बईमा गरिन्थ्यो । अहिले सबै काम नेपालमा नै हुन्छ ।

पछिल्लो समयमा नेपालमा निर्माण भएका केही चलचित्रले भारतमा प्रदर्शनको प्रयास गरिरहेका छन् । यही क्रममा सन्तोष सेनको चलचित्र ‘प्रेमगीत ३’ र निर्माता तथा निर्देशक मिलन चाम्सको चलचित्र ‘वीर विक्रम २’ भारतमा प्रदर्शनका लागि कम्मर कसेर लागेका छन् ।

निर्देशक चाम्सका अनुसार उनले भारतका थिएटरमा ‘वीर विक्रम २’ रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा चलचित्रको हिन्दी डबिङ गरेका थिए । ‘हामीले कोरोना अघि नै भारतमा चलचित्र प्रदर्शनको तयारी गरेका थियौं । तर महामारीका कारण त्यो तयारीलाई पूर्णता दिन पाएनौं’, निर्देशक चाम्सले भने ।

उनले अब भारतीय यूट्युब च्यानलबाट चलचित्र रिलिज गर्ने बताए । एक महिनाभित्र चलचित्रको हिन्दी डब यूट्युबमा रिलिज हुने चाम्सले बताए । भारतमा दर्शकको संख्या उल्लेख्य रहेकाले पनि चलचित्र मनपराउनेमा उनी आशावादी छन् ।

उनले आफ्नो फेसबुकमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पल शाहबीचको संवाद हिन्दीमा स्वरांकन भएको दृश्य शेयर गरेका छन् ।

बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथा बोल्ने चलचित्रमा पल शाह,वर्षा शिवाकोटी,नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी लगायतको अभिनय छ ।