अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ मा



काठमाडौँ। अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र निर्माण टिमले सोमबार एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको छ ।

झरना थापाको निर्देशनमा निर्माण भएको चलचित्रमा सुनिल कुमार थापाको लगानी छ । सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाले दोस्रो पटक जोडी बाँधेका छन् । ‘ए मेरो हजुर ३’मा यस जोडीलाई दर्शकले मन पराएका थिए ।

चलचित्रमा निर्देशक झरना थापा र छेतेन गुरुङको कथा रहेको छ भने मन्दिप गौतम, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले निर्देशक थापा र गुरुङलाई पटकथा तथा संवाद लेखनमा सहयोग गरेका छन् । ‘ए मेरो हजुर ४’मा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल कल्याण सिंहको संगीत, संजय लामाको डिओपी, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

चलचित्रको अन्तिम चरणको छायांकन फागुन २७ गतेबाट सुरु हुँदैछ । निर्माण टिमका अनुसार ‘ए मेरो हजुर ४’को केही सिन र गीतको छायांकन मात्र बाँकी छ । कोरोना महामारीका कारण रोकिएको चलचित्रको कार्तिक १ गतेबाट पुनः छायांकन थालिएको थियो ।