दिपेन्द्रको ‘वरदान’ मा दयाहाङ र नम्रता



काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले ‘वरदान’ नामक छोटो चलचित्रमा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको छायांकन शनिबार ललितपुरमा सकिएको छ । दयाहाङ र नम्रताले लामो समयपछि एउटै चलचित्रमा अभिनय गरेका हुन् ।

मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय चलचित्रमा उठाइएको छ । विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन् । मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् । चलचित्र कोसिस नेपालले निर्माण गरेको हो ।

चलचित्रको कथावस्तु मन परेर नै अभिनय गर्न आफू तयार भएको नम्रता बताउँछिन् । ‘मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका विषयमा मैले विभिन्न मञ्चमा बोल्दै आएको छु,’ नम्रताले भनिन्, ‘यो चलचित्रले यस विषयमा सशक्त सन्देश दिन्छ भन्ने विश्वास लिएको छु ।’

करिब २० मिनेट अवधिको हुने चलचित्रमा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् । शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको चलचित्र केही हप्तापछि अनलाइन प्ल्याटफर्ममा रिलिज गरिनेछ ।