किन बिबादित बन्छन् सेलिब्रेटीहरु


ram krishna
(सेलिब्रेटी नेपाल) २४ बैशाख-नेपाली संगीत क्षेत्रमा क्रियाशील गायकहरू केही समययता विभिन्न गतिविधिका कारण चर्चामा आउने गरेका छन्। यसैक्रममा अहिले गायक रामकृष्ण ढकालको चर्चा बढी छ। उनी चर्चामा आउनुको कारण कुनै राम्रो गीत या एल्बम निकालेका नभई फाइनान्सबाट निकालेको रकम तिर्न नसकेकाले हो।
आफ्नो सांगीतिक यात्राका सुरुवाती चरणमा नारायणगोपालको गीत गाएर चर्चामा आएका रामकृष्णले त्यसपछि आफ्नो छुट्टै पहिचान बनाउन सफल भए। नारायणगोपालको जस्तै स्वरका धनी भनेर चिनिएका रामकृष्ण अहिले आफैंले गाएको चर्चित गीत ओराली लागेको हरिणको चाल भो को नियतिमा पुगेका छन्।
घर बनाउन भनी लिएको दुई करोड रुपैयाँ ऋण तिर्न पटक पटक ताकेता गर्दा पनि उनले चासो नदेखाएपछि पुल्चोकमा रहेको श्री लालीगुराँस फाइनान्सले रामकृष्ण र उनकी श्रीमती निलमको नाममा सूचना जारी गर्दै उनको घर लिलामी गर्ने जनाएको छ। यसअघि ३५ दिने सूचना जारी गर्दै सो फाइनान्सले रामकृष्णलाई कर्जा चुक्ता गर्न भनेको थियो। तर उनले कुनै चासो नदेखाएपछि आफूले दिएको ऋण असुलीउपर गर्न फाइनान्सले २१ दिने लिलामीको सूचना जारी गरेको हो। अबको दुई हप्ताभित्र रामकृष्णको भैंसेपाटीस्थित बंगला लिलामी गरेर फाइनान्सले आफ्नो ऋण उठाउने भएको छ। अहिले रामकृष्णकै कारण संगीत क्षेत्रको बद्नाम भएको भन्दै उनीविरुद्ध नकारात्मक टीकाटिप्पणी उठ्न सुरु भएको छ।

हुन त केही समयअघि गायक सुगम पोखरेलको हर्कतका कारण पनि नेपाली संगीत क्षेत्रमा लागेकाहरूबारे आलोचना नभएको होइन। मेरो संसार तिमी नै हौ बोलको गीतबाट एकाएक नेपाली संगीत क्षेत्रमा स्थापित हुन पुगेका सुगम रंगमञ्चका चर्चित कलाकार सुनिल पोखरेलका भाइ हुन्। आफ्ना साथीहरूसँगै कालोपुल नजिकै सुगमलाई लागूपदार्थका साथमा प्रहरीले पक्राउ गरेपछि सुगमको वास्तविक चरित्र उदांगिएको हो। लागूपदार्थको दुर्व्यसनी रहेका सुगमलाई प्रहरीले एक दिन हिरासतमा राखेर रिहालिवेसन केन्द्रमा लगी उपचार गराइरहेको छ। सुगमको वास्तविकता बाहिर आएपछि नेपाली संगीत क्षेत्रमा दुर्व्यसनी भएका थुप्रै गायक गायिका भएको प्रहरीले अनुमान गरेको छ।

पाँच वर्षअघि गायक कुल पोखरेलको ड्रग्स एडिक्टकै कारण मृत्यु भएपछि नेपाली संगीत क्षेत्रमा लाग्नेहरूविरुद्ध टीकाटिप्पणी उठ्न थालेको थियो। तर लागूऔषधका साथमै प्रहरीले त्यसपछि कसैलाई पनि पक्राउ गर्न सकेको थिएन। कुल पोखरेलको ड्रग्स एडिक्टकै कारण ३० वर्षको कलिलो उमेरमा मृत्यु हुन पुगेको थियो। खासगरी रमाइलो र नाम कमाउने उद्देश्यका साथ संगीत क्षेत्रमा लागेका दर्जनौं र्याप र पप गायक गायिका लागूऔषधको दुर्व्यसनी रहेको बताइन्छ। नाम चलेकादेखि भर्खरका नवप्रवेशी पनि चुरोट र रक्सीको पारखी भएको पाइन्छ। सत्यराज आचार्य हुन् कि रामकृष्ण ढकाल नै किन नहून्, दुवै चुरोट र रक्सी अत्यधिक सेवन गर्ने गायक हुन्। त्यस्तै, गायक शम्भु राईकी छोरी श्रद्धा राई र उदय मिनला सोताङकी छोरी श्रेया सोताङ पनि चुरोटको अम्मली रहेको उनका निकटवर्ती कलाकारहरू बताउँछन्। रामकृष्ण त गाँजाका पारखी नै भएको संगीत क्षेत्रमा चर्चा चल्ने गर्छ।

नेपालमा हुँदा गायक यम बराल बेला बेला चर्चामा आइरहन्थे। उनी चर्चामा आउनुको कारण भने युवती हुने गर्थ्यो। मीठो स्वरका धनी यम रजनी थापा नाम गरेकी एक युवतीका कारण बेलाबेला चर्चामा आउँथे। पछि विवाह गरेपछि यम केही समय चर्चाविहीन भए। तर एक वर्षअघि श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि यम पनि दुर्व्यसनी भएको बताइन्छ। हाल अमेरिकामा बस्दै आएका यम साँझ परेपछि रेस्टुरेन्टमा झुम्म भएको अवस्थामा फेला पर्ने गरेको अमेरिकामा रहेका कलाकारहरू बताउँछन्।

नेपाली सुगम संगीत र चलचित्र गीतका राम्रा गायक राजेशपायल राई पनि कुनै बेलाका ड्रग्स एडिक्ट थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। गायन यात्राका सुरुवाती दिनमा उनी सम्हाल्नै नसक्ने किसिमका लागूऔषधका दुर्व्यसनी थिए। उनको त्यो लागूऔषधको कुलत एकजना चर्चित संगीतकारले मुम्बईमा लगेर छुटाएका थिए। लागूऔषधको दुर्व्यसनी छुट पनि राजेशपायल राईले रक्सी सेवन गर्न थाले।
आफूले कमाएको पैसामध्ये आधाभन्दा बढी साथीभाइलाई रक्सी र बियर खुवाएरै सिध्याएका राजेशपायल बिरामी परेपछि भने अहिले त्यसबाट छुटकारा पाएका छन्। आफूले गीत गाएरै कमाएको रकमले उनले बानेश्वरमा घरसमेत किनेका छन्। उमेरले ४० वर्ष कट्न थालेका राजेशपायल अझै पनि अविवाहित नै छन्। सिनेमामा अभिनय र राम्रो गीत गाएर चर्चामा आउने यी गायक पछिल्लो समय चलचित्र किन किनमा नायिकासँग चुम्बन गरेको दृश्यका कारण चर्चित बनेका छन्।
तरुण साप्ताहिक बाट साभार