‘गणपति’घोषणा, मुकुन र मेनुकाको जोडी बाँधिने



काठमाण्डौ । सविन अधिकारीको निर्देशनमा चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रले भगवान र मानिसबीचको फरक देखाउनेछ । माघ २ गतेबाट छायांकन सुरु हुने चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले चलचित्रको निर्माण गर्नेछन् ।

अ बिग म्यान फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल, शुशील पोखरेललगायतका कलाकारको अभिनय रहनेछ । तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा छायांकन हुने चलचित्रलाई हरिबहादुर घलेले खिच्ने जिम्मेवारी पाएका छन् ।

बिक्रम स्वाँरको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहने चलचित्रमा शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला र किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकरको रुपमा रहेका छन् । चलचित्रलाई गोविन्द शाहीले देशभर वितरण गर्नेछन् ।

चलचित्रको गीतमा अनिस अधिकारीको शब्द तथा संगीत रहनेछ भने अनिश अधिकारी र देवेन्द्र बब्लुले आवाज भर्नेछन् । त्यस्तै, स्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टले चलचित्रको ओभरसिज राइट्स लिएको छ । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा धर्मको विरोध र प्रचार नगरिने स्पष्ट पारे । ‘मान्छे र भगवानबीचको फरकलाई चलचित्रमा देखाउनेछौं,’ उनले भने ।

कलाकार जयनन्द लामाले चलचित्रको कथावस्तु अत्यन्त राम्रो भएका कारण काम गर्न आतुर रहेको बताए । अभिनेता भुषाल भने चलचित्र साइन गरेपछि डराएका रहेछन् । उनले भने, ‘म टाइटल क्यारेक्टरमा छु । एउटा कलाकारलाई राम्रो क्यारेक्टरको भोक सधैं हुन्छ र त्यो क्यारेक्टर बाँचिरहोस् भन्ने लाग्छ । मैले चलचित्र गर्छु त भनेँ तर क्यारेक्टरलाई बुझ्दै गएपछि डर लाग्न थाल्यो ।’

उनले अगाडि भने, ‘सुरुमा मलाई यो क्यारेक्टरलाई न्याय गर्न नसकुँला कि भन्ने एकदमै डर लागेको थियो । तर, म बेकारमा आत्तिएको रहेछु । चलचित्रमा अभिनयका गुरुहरु भएपछि म किन डराउनु ? सबैले मलाई गाइड गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।’ खराब समय र कमजोर भाग्य हुँदा मान्छे कहाँसम्म गिर्न पुग्छ र भाग्य बलियो भयो भने कहाँसम्म पुग्छ भन्ने चलचित्रले देखाउने उनले बताए ।

त्यस्तै, निर्माता लक्ष्मण थापाले चलचित्रको कथावस्तु पृथक लागेका कारण लगानी गर्न तयार भएको बताए । चलचित्रको स्क्रिप्ट पढ्दा आफू तीन पटक रोएको उनी सम्झन्छन् । उनले भने, ‘यो चलचित्रको स्क्रिप्ट फरक किसिमको छ । यसमा केही नयाँपन छ । समाजमा घट्ने घटनालाई चलचित्रमा देखाउने छौं । स्क्रिप्टले छोएपछि चलचित्रमा आबद्ध भएको हुँ । दर्शकलाई पनि चलचित्रले छुनसक्छ ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.