चलचित्रबाट नाम कपडा पसलबाट दाम



काठमाडौँ। चलचित्र क्षेत्रबाट नाम कमाउने र आफ्नो ब्यबसाय बाट घर चलाउने थुप्रै चलचित्रकर्मीहरु छन् त्यस्तै व्यक्तिमा पर्दछन् दुर्गालाल प्रधान । उनको चलचित्र क्षेत्रमा प्रदर्शक र वितरक गरी दुईथरी परिचय छ । नाम र पहिचानका लागि उनले चलचित्र क्षेत्रका यी दुई विधामा हात हाले पनि मामका लागि भने कपडाको व्यवसाय गर्दै आएका छन् । चलचित्र क्षेत्रबाट नाम, ब्यवसायबाट माम’ उनले आफ्ना लागि भन्ने शब्द हुन् ।

नेपाली चलचित्र क्षेत्रमा प्रधानलाई चलचित्र प्रदर्शक’ का रुपमा सुरुवातमा चिनिन्थ्यो । २०५७/०५८ सालमा बनेपामा ‘शुभकामना हाइभिजन हल’ खोलेर चलचित्र क्षेत्रमा उनले पहिलो पाइला टेकेका थिए । त्यतिबेला बागबजारमा उनको बुबाको एउटा पसल थियो । उनी बुबा र भाइसँगै त्यहीँ बस्थे ।

‘शुभकामना हाइभिजन हल’ले गर्दा साथीभाई धेरै कमाइयो । चलचित्रको कामले देश, विदेशसमेत घुम्न पाएँ । सबैले चिनेका छन्,’ दंग भएर उनले सुनाए, ‘पसलमात्र गरेको भए न कसैले चिन्थे, न त देश विदेशको यात्रा नै हुन्थ्यो ।’

अहिले उनी चलचित्र प्रदर्शकमात्र हुन्, त्यही ‘शुभकामना’ सिनेमा हलको । हाइभिजनको रुपमा सुरु गरेको उक्त हल अहिले पुनर्निर्माण गरेर आधुनिक बनाइसकेका छन् उनले । हिन्दी र नेपाली दुवै चलचित्र चलाउने भनेर एक करोड रुपैयाँ लगानी गरेर उनले हल त निर्माण गरे तर कोरोनाको कारण कारोबार सुरु गर्न पाएनन् । हल निर्माण पनि उनले कपडा ब्यवसायको पैसाबाट गरेका थिए । अहिले पनि हलका स्टाफलाई पसलबाटै हुने कमाइबाट पारिश्रमिक लगायतका सुविधा दिँदै आएका छन् । फिल्म क्षेत्रमा आफू जोडिए पनि ती काम नामको लागिमात्र भएको र माम भने कपडा व्यवसायबाटै जुटेको उनले बताए ।

पछिल्लो समय कोरोना महामारीले गर्दा उनको हलमात्र हैन, पसलको व्यवसायसमेत चौपट भएको छ । पसलको आम्दानीबाट फिल्म हलको समेत खर्च धान्दै आएका उनी अहिले तनावमा छन् । त्यसैले पनि स्टक पनि क्लियर हुने र आफुलाई पनि केही सहज हुने भन्दै उनले ११ हजार पर्ने सुटलाई ६ हजारमै ‘अफर’ दिएका छन् । आफैले कपडा छानेर होस् वा रेडिमेड, सबैमा उनले यस्तो अफर ल्याएका हुन् ।

‘कोट–पाइन्ट–सर्ट, दौरा–सुरुवाल, टोपीलगायत पुरुषका सम्पूर्ण पहिरनमा अहिले अफर ल्याएका छौँ,’ उनले भने, ‘कोरोनाले ग्राहक तथा व्यवसायी सबैको अवस्था उस्तै भएकोले सबैको राहतका लागि अफर ल्याएका हौँ ।’ अफरले ग्राहकलाई पनि राहत मिल्ने र आफ्नो पनि केही समस्या समाधान हुने उनको अपेक्षा छ ।