पूर्वी नेपालबाट ‘कृष्णलीला’ को छायाँकन सुरु



काठमाडौ। दशैअघिनै निर्माण घोषणा भएको चलचित्र ‘कृष्णलीला’ को गत शुक्रबारबाट छायांकन सुरु भएको छ । पूर्वी नेपालको झापाबाट सुटिङ थालीएको चलचित्रको युनीट हाल इलाम पुगेको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रको सुटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीतबाट सुरु भएको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन् ।

सो गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछाले गरेका हुन् । बाबु श्रेष्ठले खिचेको गीत निकै सुन्दर बनेको कोरियोग्राफर लामीछानले बताएका छन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्णलीला’ मा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकार मुख्य भूमिकामा छन् । प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रको कोशी नदी किनारमा सेट लगाएर सुटिङ आरम्भ गरिएको थियो भने युनीट हाल इलामको पानीटार पुगेको छ । त्यहाँ गीतको छायांकन सम्पन्न गरेर दृश्य खिच्न थालीने जानकारी निर्देशक वलीले दिएका छन्। चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालमै सकाइने बताइएको छ ।