डीसी अध्यक्ष पदमा विजयी


नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितिका लागि शनिबार राजधानीमा सम्पन्न निर्वाचनमा अभिनेता, निर्देशक तथा सञ्चारकर्मी दिनेश डीसी अध्यक्ष पदमा विजयी भएका छन्। डीसी आफ्ना प्रतिद्वन्द्वी नरेश पौडेललाई १६ मतको अन्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन्। १ सय ३७ मतदाता सदस्य भए पनि १ सय २४ मत खसेको निर्वाचनमा डीसीले ६९ मत पाएका थिए भने पौडेलले ५३ मत पाएका थिए।
त्यसै गरी राजु केसी र सुचित्रा श्रेष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। राजुले ८० र सुचित्राले ६८ मत पाएका थिए भने उनीहरुको प्रतिद्वन्द्वीद्वय प्रमोद भण्डारीले ४४ र राकेश मानन्धरले २८ मत हासिल गरेका थिए।
अध्यक्ष, उपाध्यक्ष र महासचिव पदका लागि मात्र चुनाव भएको समाजको नयाँ कार्यसमितिमा निर्देशक ऋषि लामिछाने महासचिवमा निर्वाचित भए। समाजको डिल्लीबजारस्थित कार्यालयमै भएको निर्वाचनमा लामिछाने अग्रज केसीलाई भारी मतले हराउँदै महासचिव पदमा विजयी भएका हुन्। अग्रजलाई ३९ मत प्रँप्त भएको थियो भने लामिछानेलाई त्यसको दोब्बरभन्दा पनि बढी ८२ मत प्राप्त भएको थियो। लामिछानेले समाजको निर्वाचनमै सबैभन्दा बढी मत ल्याएका हुन्। प्रमुख ३ बाहेक बाँकी पदमा निर्विरोधको परिणाम आएको छ।
जसअनुसार श्याम भट्टराई सचिव, सुमन दाहाल कोषाध्यक्ष, गोपालचन्द्र लामिछाने सहकोषाध्यक्ष तथा राजु गिरी, शरद केसी, योगेश घिमिरे, शेखर खनाल, दुर्गा नेम्वाङ र गोकुल राई सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.