एजेन्सी । भारतमा हुने वार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नहुने भएको छ । यस बर्ष हुने मेला अर्को बर्ष मात्रै आयोजना गर्नेगरी सारिएको छ । यस वर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१ औँ संस्करणको मेला आयोजना गर्ने तय भएको थियो ।
भारतमा कोरोनाभाइरसको महामारी फैलिने क्रम नरोकिएकाले यस वर्ष मेला आयोजना गर्न सकिने सम्भावना कम देखेर सारिएको अधिकारीहरुले जनाएका छन् । आयोजकहरुको आधिकारीक ट्वीटर हेन्डलमार्फत् कार्यक्रम सारिएको बारेमा जानकारी गराइएको हो । उनीहरुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘यस बर्ष आयोजना गर्ने तय भएको ५१ औँ संस्करणको अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष गर्न नसकिने भएको छ । यो मेला अहिलेलाई स्थगित गरेर अर्को बर्ष सन् २०२१ को जनवरी १६ देखि २४ सम्म गर्ने तय भएको छ ।’