वामदेव गौतमद्धारा रचित गीत “यो बुद्ध भूमि” सार्वजनिक



काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रवादी नेताका रुपमा परिचित छन् । पछिल्लो समय केन्द्रिय राजनीतिमा आकर्षणको रुपमा रहेका वामदेव गौतम नेकपाका बरिष्ठ उपाध्यक्ष समेत हुन् । उनै नेता गौतम गीतकार पनि हुन् । उनको अहिलेसम्म दर्जनौ गीतहरु सार्वजनिक भएका छन् ।

शुक्रवार गौतमद्धारा रचित गरिएको गीत यो बुद्ध भूमिको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भिडियोमा राष्ट्रभक्ति गीतलाई प्रस्तुत गरिएको छ । राजनीतिक व्यक्तित्वहरु पनि कलामा रुची राख्दछन् भन्ने विश्वास बढ्दै गईरहेको छ । यसैको अर्को उदाहरण हो वामदेव गौतम ।

सार्वजनिक गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ । गौतमले लेखेको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् ।

गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन् । गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रीपाठी र अञ्जना गुरुङलगायतको स्वर रहेको छ । दीर्घ गुरुङले खिचेको गीतलाई जीवन थापाले सम्पादन गरेका छन् । गीतकार गौतमले आफ्ना ४३ गीतहरुलाई एकत्रित गरि गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ ।

जसमा सार्वजनिक भएका गीतहरु र हुन बाँकी सबै समावेश गरिएको छ । विशेष त गीतहरु राष्ट्रिय भावहरुले भरिएका शब्दहरुमा बढि रचित छन् । त्यस लगायत कला साँस्कृतिक, सामाजिक र आर्थिक उन्नतीका लागि पनि रचित गरिएको छ ।

राजतन्त्रको अन्त्य पछि उदय भएको लोकतन्त्रको शुरुवाटमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको विकल्प खोजियो । जसको लागि साहित्यकार मोदनाथ प्रश्रित निर्णायक समितिमा रहेका थिए । उक्त प्रतिष्पर्धाको लागि गौतमले पनि “प्राण प्यारो देश नेपाल” बोलको गीत लेखेर पठाएका थिए ।

तर, उक्त गीत छनौटमा भने परेन । त्यहिँबेलादेखि गौतमको गीति यात्रा शुरु भएको थियो । विद्यालयस्तरदेखिनै गीत संगीत र कवितामा रुची राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पुरा भएको बताएका छन् । उनले सानै बेलादेखिको रुचीलाई अहिले राजनीतिसँगै अघि बढाईरहेको पनि बताएका छन् ।