सेन्सरको सनकमा पर्दै चलचित्र


(सेलिब्रेटी नेपाल) ९ बैशाख-रिलिजको मुखमा पब्लिसिटीका लागि कुद्नु पर्ने बेलामा पछिल्ला समय  चलचित्र  निर्माताहरु सेन्सर बोर्डमा धाउने बाध्यता बढ्न थालेको छ । गत वर्ष केही अश्लिल फिल्म बन्ने क्रम बढेपछि सक्रिय हुन थालेको सेन्सर बोर्डको सक्रियता भने यतिबेला ‘अनावश्यक’ हुँदै गएको सरोकारवालाको आरोप छ । केही समयदेखि नेपाली  चलचित्र  लगातार सेन्सर बोर्डको झ्वाँकमा पर्न थालेका छन् ।

सेन्सर बोर्डले अनावश्यक दृश्यमा कैंची चलाउन खोजेको भन्दै आईतबार  चलचित्र  ‘मन्जरी’ ले विरोधमा पत्रकार सम्मेलन नै गरेको छ । सेन्सर बोर्डले आपत्ति जनाउँदै हटाउन भनेका दृश्यलाई  चलचित्र  युनिटले विशालनगर स्थित चलचित्र संघको हलमा देखाए । मन नपरेको मान्छेलाई बच्चाले चियामा थुकेर दिएको, पिशाब फेरेर पेय पदार्थ दिएको र एक पात्रको टाउको अर्कोले ढुंगामा बजारेको दृश्यलाई सेन्सर बोर्डले हटाएर मात्रै सर्टिफिकेट दिन मिल्ने बताएको छ । सेन्सर बोर्ड अध्यक्ष नारायण सन्जेल भने अन्तर्राष्ट्रिय प्रावधान अवलम्बन गरेको बताउँछन् । भन्छन्, ‘यस्तो दृश्य हेर्दा बच्चाले के सिक्छ ? अन्तर्राष्ट्रिय प्रावधानमा पनि बच्चाको मलमुत्र देखाउन मिल्दैन ।’ तर धेरै फिल्ममा त्यही सेन्सर बोर्डले ठूलाले नै पिसाब फेरेको दृश्यलाई भने पास गरिदिएको छ ।

गत साता पनि ‘नतिजा’  चलचित्र  युनिटलाई ‘मन्जरी’ कै प्रकृतिको झमेला बेहोर्नुपर्‍यो । सेन्सरबोर्डले फिल्मका नौ वटा दृश्यमा आपत्ति जनाउँदै काटेर ल्याएमा मात्रै पास हुने आदेश दिएको थियो । त्यसपछि क्रुद्ध बनेको ‘नजिता’ युनिटले निर्देशक समाजदेखि पत्रकारलाई पूरा फिल्म नै देखाएर उक्त दृश्य काट्नु पर्नाका कारण जान्न खोजेको थियो । सेन्सरले फिल्मका ‘काट्नै नपर्ने दृश्य’ मा कैंची चलाउन खोजेको निष्कर्ष निकाल्दै  चलचित्रकर्मीहरु विरोधमा उत्रनेमा प्रतिबद्ध भएका थिए । सेन्सरले फिल्ममा महिलाले लिपिस्टिक लगाउँदै गरेको दृश्य, कफि खाँदै कुरा गरेको दृश्य, भित्ताको पेन्टिंग, केटाको टपलेश शरिर र महिलामाथि पिसाब फेरिएको दृश्यमा आपत्ति जनाएको थियो । फिल्मका निर्देशक प्रमोद भण्डारीले बोर्डको निर्णयप्रति रोष प्रकट गर्दै भनेका थिए, ‘ती दृश्यको फिल्ममा अर्थ छ की छैन भन्ने त ज्ञान हुनुपर्छ नी बोर्डको ।’ उनी सेन्सर बोर्ड विरुद्ध लडाईका लागि अदालत समेत जान तयार रहेको बताउँछन् ।

सेन्सर बोर्डका अहिलेका कामकारवाही हेर्दा बेड सिनलाई चार सेकेन्डमा घटाउन, दुई अर्थी संवादलाई पनि नछोडी सकेसम्म ‘क्लिन’ पारिवारिक फिल्म बनाउन उद्दत देखिन्छ । केही अघि मौसमी मल्लले सेन्सरकै झमेलाका कारण फिल्म ‘समय’ को रिलिज डेट पछि सार्नु परेको थियो । सेन्सर बोर्डकै कारण चैत ९ मा फिल्म रिलिज गर्न नसकेको ‘मन्जरी’ जेठ २० मा धकेलिएको छ ।

‘फिल्म हेर्दा सेन्सर अध्यक्षले त्यो पात्रलाई कीन त्यती धेरै पिटेको ? दुई पटक पिटे पुग्छ । यति धेरै पिटा त ब्लड प्रेसर बढ्छ भन्ने टिप्पणी गर्छन्’ ‘मन्जरी’ का निर्देशक गणेशदेव पाण्डेले सुनाए । ‘बधशाला’ फिल्म हेर्दा पनि बोर्ड अध्यक्ष सन्जेलले प्रेसर र मुटुको रोगीले झन् यस्तो फिल्म धेरै हेर्नुपर्‍यो भनेर टिप्पणी गरेको यसका निर्माता मोहन डोटेल बताउँछन् । डिसिएन प्रमुख अशोक शर्माले ‘मन्जरी’ का आपत्ति जनाईएका दृश्य हेरिसकेपछि बोर्डको कदममा असन्तुष्टि पोखे । भने, ‘यस्तो पनि हुन्छ ? फिल्मको सब्जेक्ट कस्तो छ, त्यो अनुरुपको कन्टेन्ट हो की होइन भनेर पो जाँच्नु पर्ने हो । उसो भएत भोली कसैले सेक्सुअल कन्टेन्टमा फिल्म नै बनाउन पर्ला । अनि के गर्ने ? यसमा बोर्डको आचार सहिंता हुनुपर्दैन ? आज मुटु रोगी आउला भोली सुगर रोगी आउला । कस्का लागि फिल्म बनाउने हो ?’ निर्माता संघ अध्यक्ष राजकुमार राईले अरु संचारका माध्यममा सेन्सर गर्नु नपर्ने भएपनि फिल्ममा लगाईनु आफैंमा विरोधाभास भएको टिप्पणी गर्दै अझ झन् त्यस्तो निकायमा फिल्मनै नबुझ्ने बस्छ भने त्यसबारेमा छलफल चलाउन पर्ने औल्याए । विकास बोर्ड सदस्य विकास आचार्यले आफु पनि सेन्सर जाँचपासमा बोर्डको प्रतिनिधित्व गर्ने भएकोले निकासका लागि पहल गर्ने आश्वासन दिंदै भने, ‘मन्जरी कीन रोकियो मैले पनि बुझ्न सकिनँ ।’

इकान्तिपुर बाट साभार