गायिका तथा संचारकर्मी अनिताको तीज गीतमा प्रिन्सी र प्रिज्मा संगै बले (भिडियो)



सेलिब्रेटी नेपाल । गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यसपटक पनि तीज गीत सार्वजनिक गरेकी छन् । बुधवार उनको ‘यस्तो बनोस् मेरो तीज’को भिडियो रिलीज भएको हो । बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीतको रहेको गीतमा अनिताले स्वर दिएकी छन् ।

यस गीतको भिडियोमा चर्चित जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा ‘बले’ नामले परिचित सागर लम्सालले अभिनय गरेका छन् । भिडियोका निर्देशक गम्भीर बिष्ट हुन् । दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका प्रिज्मा र प्रिन्सीले तीजको गीतमा भने पहिलो पटक अभिनय गरेका हुन् ।

गीत रिलीज पछि गायिका चलाउनेले आफुले भड्किलो गीत नगाएर नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो बनाएको बताईन् । ‘मैले यस गीतमा मौलिकता मर्न दिएकी छैन । गीतका शब्द तथा संगीत र भिडियो पनि मौलिक हिसाबको छ । यो गीतले तीज गीतको नाममा आइरहेका भड्किला गीत भन्दा फरक र तीजको वास्तविक मर्म झल्काउँछ । अडियो सँगै भिडियोमा पनि उत्तिकै मेहनत गरेका छौँ’, अनिताले भनिन् ।

केहि महिना अघि ‘विदेशको पिआर छ’ बोलको गीत हिट बनाएकी चलाउनेले ‘यस्तो बनोस् मेरो तीज’ गीत यस बर्षकै उत्कृष्ट हुनेमा विश्वास व्यक्त गरिन् । अनिता विगत पाँच बर्ष देखी मीडिया र संगीतमा आवद्द छन् ।