निर्देशक समाजको पहलमा निर्देशक चौधरीलाई आर्थिक सहयोग प्रदान




सेलिब्रेटी नेपाल।
नेपाल चलचित्र निर्देशक समाजको पहलमा विगत ४ महिना देखि चितवन मेडिकल कलेजमा उपचाररत समाजका सदस्य तथा चलचित्र निर्देशक किशोर चौधरीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

लामो समयदेखि कलेजो सुन्निने तथा उच्च रक्तचापको उपचार गराइ रहेका चलचित्र निर्देशक चौधारीको उपचा्का लागि नेपाल चलचित्र बिकास बोर्डको कल्याणकारी कोष तथा अमेरिका निबासी चलचित्र निर्देशकहरुबाट आर्थिक सहयोग प्राप्त भएको हो ।

कोरानाको महामारी र लकडाउनको समयमा पनि अमेरिकाबाट प्राप्त सहयोगको लागि चलचित्र निर्देशक समाजले हार्दिक धन्यवाद सहित आभार प्रकट गरेको छ । यसबाट विश्वभरी छरिएर रहेका चलचित्रकर्मी र चलचित्र निर्देशकहरु अप्ठ्यारो परेको बेलामा एकै ठाउँमा छन् भन्ने सन्देश गएको कुरा समाजका महासचिव जनक दीप पराजुलीले बताए ।

उपचार गराइ रहेका चौधरी कोरोना महामारीको प्रकोपका कारण भरखरै मात्र अस्पतालबाट डिस्चार्ज भै घरमा नै उपचार गराइरहेको तथा निको हुने क्रममा रहेको समेत पराजुलीले बताए । निर्देशक चौधरीलाई अमेरिकाबाट सहयोग गर्ने चलचित्र निर्देशकहरुमा कृष्ण चापागाइँ (एक सय डलर), दिनेश कार्की (पचास डलर), गोपाल चन्द्र लामिछाने (५१ डलर), यादब सिलवाल (५० डलर) , किशोर सुब्बा (५० डलर), सुमन दाहाल (५० डलर) रहेका छन् । उनिहरुबाट प्राप्त गरी कुल ३ सय ६१ डलर संकलन भएको थियो ।

उक्त डलर सटहीबाट प्राप्त ४२ हजार ६ सय ९७ रुपैयाँ तथा नेपाल चलचित्र बिकास बोर्ड कल्याणकारी कोषबाट प्राप्त २५ हजार रुपैयाँ गरी कुल ६७ हजार ६ सय ७९ रुपैयाँ निर्देशक चौधरीको परिवारलाई हस्तान्तरण गरिएको हो ।