सुशान्त सिंहको अन्तिम संस्कारमा सुनिल शेट्टी, विवेक, श्रद्धा लगाएतको उपस्थिती (फोटोफिचर)



एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मुम्बइको विले पार्ले श्मशान घाटमा अन्तिम संस्कार गरियो । उनलाई बुवा केके सिंह र दिदीहरुले दागबत्ती दिए । यतिबेला उनका काकाका छोरा सांसद निरज सिंह बबूलको पनि उपस्थिती रह्यो । अन्तिम संस्कारमा नायिका कृति सेनन, श्रद्धा कपुर, नायक राजकुमार राव, सुनिल शेट्टी, विवेक ओबरोय, वरुण शर्मा, अर्जुन बिजलानी र थुप्रै टिभी कलाकारको उपस्थिती रह्यो ।

अन्तिम संस्कारमा जम्मा २५ व्यक्ति समावेश भए । परिवारले अस्तु पटना लैजानेछ । त्यसलाई गंगामा विसर्जन गरिनेछ । पोस्टमार्टमपछि सुशान्तको पार्थिव शरीरललाई कूपर अस्पतालमा राखिएको थियो । यहिँबाट अन्तिम यात्रा निकालियो । भाइ निरजका अनुसार परिवारले अन्तिम संस्कार पटनामा गर्न चाहेता पनि कोरोना महामारीका कारण प्रशासनले अनुमति नदिएको जानकारी दिए ।


कोरोना रिपोर्ट नेगेटिभ

सुशान्तको कोरोना परीक्षणसमेत गराइएको थियो । रिपोर्ट नेगेटिभ आयो । पोस्टमार्टममा उनको पासो लगाएका कारण नै मृत्यु भएको बताइएको छ । शरीरमा चोट वा जोर–जबरजस्तीका केही दाग छैनन् । सुशान्तकी साथी रिया चक्रवर्ती बिहान कूपर अस्पताल पुगिन् । यहाँ सुशान्तको शव राखिएको थियो । यसबारे प्रहरीले रियालाई सोधपुछ गर्नेछ ।

सुशान्तका परिवारका चार सदस्य पटनाबाट मुम्बई पुगे । मुम्बई एयरपोर्टबाट बाहिर निस्किरहेका सुशान्तका पिता केके सिंह (निलो टी सर्ट) । उनीसँग सुशान्तका काकाका छोरा निरज कुमार बबलू (सेता सर्टमा) छन् ।