डिजिटल प्लेटफर्म मार्फत चलचित्र पत्रकार संघको वार्षिकोत्सव सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र पत्रकार संघ नेपालले २१ औं वार्षिकोत्सव तथा १८ औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस सम्पन्न गरेको छ । संघले लकडाउनको कारण वर्तमान अवस्थालाई मध्यनजर गर्दै डिजिटल प्लेटफर्ममा जुम एप मार्फत ईन्टरनेटको माध्यमबाट बार्षिक उत्सब सम्पन्न गरेको हो ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापि रुपमा फैलेर कोभिड–१९ को महामारी रोगबाट सुरक्षित रहनका लागि जारी गरिएको लकडाउनको आदेशको पालना गर्दै संघले ईन्टरनेटको माध्यमबाट डिजिटल प्लेटफर्म मार्फत आफ्नो वार्षिकोत्सव एवं पत्रकारिता दिवस यसरी मनाउनु परेको कुरा संघका महासचिव समीर बलामीले बताएका छन् ।

करिब ७०—७५ जना चलचित्र पत्रकारहरुले सहभागिता जनाएको सो वार्षिकोत्सव एवं राष्ट्रिय चलचित्र पत्रकारिता कार्यक्रममा चलचित्र बिकास बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद साँखी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी,चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणा, चलचित्र संघका पूर्व अध्यक्ष प्रदिप कुमार उदय, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत प्रतिनिधिहरु सहभागी भएका थिए । सबै अतिथीहरुले डिजिटल प्लेटफर्ममै शुभकामना व्यक्त गरेका थिए ।

यस्तै संघका संस्थापक अध्यक्ष अमेरिकामा रहनु भएका भरत शाक्य, निर्वतमान अध्यक्ष सन्दिप सापकोटा, पूर्व अध्यक्षहरु विदुर गिरी र शान्तिप्रिय, संघका सल्लाहकारहरु विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले पनि शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिकोत्सवमा वक्ताहरुले चलचित्र जगतको उत्थानमा चलचित्र पत्रकारिताको भुमिका बारे प्रकाश पारेका थिए भने छाता संगठनको रुपमा चलचित्र पत्रकार संघको स्थापना भएको दिन २०५६ साल जेठ ७ गतेलाई स्मरण गर्दै वार्षिकोत्सव र चलचित्र पत्रकारिता दिवस मनाउँदै आईरहेको कुरा अगाडि राख्दै संघले वर्षेनी प्रदान गर्दै आइरहेका चलचित्र पत्रकारिता सम्मान र चलचित्र पत्रकारिता पुरस्कार बारे पनि चर्चा गरेका थिए ।

अहिले लकडाउनको विषम परिस्थिति सिर्जना भएकोले यो वर्ष प्रदान गर्नु पर्ने सम्मान हाल घोषणा नगरिएको र परिस्थिति अनुकुल भएपछी सो सम्मान र पुरस्कार प्रदान गरिने कुरा संघका अध्यक्ष दिनेश सिटौलाले बताए । यस्तै महासचिव समीर बलामिले लकडाउनको विषम परिस्थितिको कारण जीवन यापन गर्न कठिनाइ भोगिरहेका संघका सदस्यहरुकालागि प्रथम चरणको राहत उपलब्ध गराएको कुरा उल्लेख गर्दै अब दोश्रो चरणको राहतमा दैनिक उपभोग्य सामग्रीहरुका साथमा संक्रमणबाट जोगिनकालागि प्रयोग गरिने स्वास्थ्य सामग्री समेत उपलब्ध गराउने योजना रहेको कुरा सुनाए ।

ईन्टरनेटको माध्यमबाट सम्पन्न संघको वार्षिकोत्सव एवं चलचित्र पत्रकारिता दिवसको कार्यक्रममा संघका विभिन्न जिल्लामा रहेका शाखाका अध्यक्षहरु हेटौंडाका अध्यक्ष मणिराज गौतम, चितवनका अध्यक्ष रवि अधिकारी, दाङ्गका अध्यक्ष शिव पुन, कास्कीका अध्यक्ष अरुण गिरी, रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ र पोखराका महाधिवेशन प्रतिनिधी सुसन घिमिरेले समेत मन्तव्य राखेका थिए

संघले परिस्थिती अनुसार बार्षिक उत्सब मनाएपनि डिजिटल प्लेटफर्ममा नेपालमै पहिलो पटक संस्थाले बार्षिक उत्सब मनाएको दावी गरेको छ । परिस्थिती अनुसार चलचित्र पत्रकार संघ नेपालले मनाएको बार्षिक उत्सब कार्यक्रमले डिजिटल प्लेटफर्मको माध्यमबाट पनि संघ संस्थालाई क्रियाशिल बनाउन सकिने उदाहरण भएको संघले जनाएको छ ।