०६९ लाई सम्झाइरहने प्रमुख केही घटना


(सेलिब्रेटी नेपाल) ३० चैत्र-यो वर्ष चलचित्र विकास बोर्डमा अध्यक्ष नियुक्तिको विषयलाई लिएर ठूलो राजनीतिमा मात्र भएन, नेपाली चलचित्रसँग सम्बन्धित सबैजसो संघसंस्थाले लामो समयसम्म आन्दोलनसमेत गरे। आन्दोलन आमरण अनशनसम्म पुग्यो। तर यो सबलाई पन्छाएर मैथिली र भोजपुरी फिल्म जगत्का धर्मेन्द्र मरवैता ‘पप्पु’ बोर्ड अध्यक्षमा नियुक्त हुन सफल भए।

नायक राजेश हमालको पनि यसपालि पोल खुल्यो। उनको प्रेमिका मधु भट्टराई विराटनगरको भएको बताइँदै आएको थियो, तर रहिछन् धरानको। कलाक्षेत्रभन्दा बाहिरको भनिएको थियो, रहिछन् मोडल।

भुवन केसी त झन् विवाद र चर्चाको केन्द्रीय हिरो नै भइहाले। उनी यसपालि आफूभन्दा धेरै उमेरले कम एटीएम गर्ल जिया केसीसँगको डेटिङले चर्चामा रहे।

नायिका रेखा थापा यो वर्ष सबैभन्दा बढी विवादमा परिन्। निर्माता छवि ओझासँगको लिभिङ टुगेदरको सम्बन्ध बिच्छेददेखि लिएर चलचित्र विकास बोर्डको अध्यक्ष बन्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि उनको पार्टी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको हारगुहारसम्मलाई लिएर रेखा विवादमा परिन्। अमेरिका पुग्दासम्म पनि उनी विवादरहित हुन सकिनन्। अमेरिका पुगेर पढेकाले के लछारेका छन् भनेर विवाद बढाएकी रेखाले काठमाडौं फर्कनासाथ अमेरिकाका नेपाली होमलेस (भिखारी) हुन्, उनीहरु नेपाल आउँदा मानसम्मान गर्नुपर्ने कारण छैन भनेर विवादलाई अझ तन्काइन्। फेरि शिवरात्रिका दिन चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता ‘पप्पु’ सँग बसेर गाँजा सेवन गरिएको भन्दै उनको अर्को विवादको विषय बाहिर आयो। भ्रष्टाचार मुद्दामा नेता मन्त्री खुमबहादुर खड्कलाई जेलमै गएर भेटेर उनले आफूमाथि अर्को प्रश्नचिह्न लगाइन्।

नवोदित नायिका सुमिना घिमिरेले हदै नाघिन्, एउटा समाचारको विषयलाई लिएर उनले पत्रकारलाई ज्यानकै धम्की दिइन्। त्यसै गरी नायिका निशा अधिकारीले एक कार्यक्रममा फोटो खिच्न लागेको बेला पत्रकारको क्यामरा नै फालिदिइन्, लगत्तै उनले भूल सुधार गरिन्।

ग्ल्यामर नायिका सुष्मा कार्कीले फिल्म निर्देशक सुदर्शन थापासँगको लामो प्रेम सम्बन्धमा ब्रेकअप गर्दै निरन्तरसँगको सम्बन्ध अगाडि बढाइन्। ब्वाइफ्रेन्डलाई सुटिङ सँगै लिएर जान थालेकी उनको प्रेमीको हस्तक्षेप बढ्न थालेपछि निर्माता निर्देशक सुष्माबाट टाढा हुन थाले। उनी यो वर्ष नायिका कम, आइटम गर्लका रुपमा बढी छाइन्।

मोडल तथा नायिका प्रियंका कार्कीले धेरै समयदेखि लुकाउँदै आएको आफ्नो दाम्पत्य सम्बन्धको रहस्य खोल्दै अमेरिकामा रहेका रोचक मैनालीसँग आफ्नो डिभोर्स भइसकेको बताइन्। उनी पतिसँगको डिभोर्सपछि अमेरिकाबाट फर्की फिल्ममा आएकी थिइन्।

नायक जीवन लुइँटेल पहिलोपटक पर्शुराम बस्नेत र महेश बस्नेतसँगको निकटताका कारण यो वर्ष विवादमा तानिए।

केहीअघि मात्र नायिका निशा अधिकारीसँग फिल्म खेल्न अस्वीकार गरेका नायक आर्यन सिग्देलले आफू पछाडि पर्न थालेपछि यसपालि उनैसँग फिल्म खेले।

नेपाल समाचार पत्र बाट

Copyright © 2012 - 2026 | All Right Reserved.