दीपेन्द्रको ‘२ नम्बरीमा’ भुटानी अभिनेत्री उगेनसंग दयाहाङको रोमान्स


सेलिब्रेटी नेपाल

काठमाडौं: भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनले नेपाली अभिनेता दयाहाङ राईसँग चलचित्र ‘२ नम्बरी’मा रोमान्स गर्ने भएकी छन् । पत्रकार तथा समिक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण चलचित्रका लागि उनी यतिबेला काठमाडौंमा छिन् । बिहीबार पत्रकारमाझ उनले नेपाली चलचित्र खेल्न पाउँदा उत्साहित भएको बताइन् ।

फागुन २८ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा उगेन भुटानी नागरिककै भूमिकामा रहने जानकारी दिइयो । उनले भुटानमा विदेशी चलचित्र प्रतिबन्धित भए पनि यूट्युबमार्फत् नेपाली चलचित्र हेर्ने गरेको बताइन् । ‘हामी भुटानी कलाकारलाई अर्को देशको चलचित्रमा काम गर्न पाउनु उपलब्धि हो ,’ उनले भनिन् । चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत र बुद्धि तामाङको शिर्ष भूमिका रहनेछ। दुई मिल्ने साथीको कथामा बन्ने चलचित्रमा निर्देशक दीपेन्द्रकै कथा रहनेछ।

किरण नेपालीको प्रस्तुति रहने ‘२ नम्बरी’लाइ सुशन प्रजापतिले खिच्ने छन् । रत्न श्रेष्ठको कार्यकारी निर्माण रहने चलचित्रका निर्मातामा रोहित कट्टेल र सरोज नेपाली छन् । रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको व्यानरमा निर्माण हुने चलचित्रमा अमलादेवी राईको सहनिर्माण रहनेछ । चलचित्रआगामी वर्षको जनै पूर्णिमामा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ ।