नौं दिनमा ‘सेन्टी भाइरस’ को व्यापार ४ करोड माथि


सेलिब्रेटी नेपाल

काठमाडौँ:धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’को ९ दिने बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको छ । आइतबार चलचित्र टिमले पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रको ९ दिनको ब्यापारिक रिपोर्ट सार्बजनिक गरेको हो । काठमाडौँ उपत्यकामा ‘सेन्टी भाइरस’ वितरण गरेका गोविन्द शाहीले ९ दिनमा चलचित्रले ४ करोड ८ लाख ग्रस कलेक्सन गरेको बताए । यसमा काठमाडौँबाट २ करोड १० लाख ३ हजार र उपत्यका बाहिर १ करोड ९० लाख ५ हजारको योगदान छ ।

उक्त कार्यक्रममा कलाकार तथा निर्माता सिताराम कट्टेल, बुद्दि तामाङ, निर्देशक रामबाबु गुरुङ, वितरक गोविन्द शाही, मनोज राठी र उज्ज्वल पौडेलको उपस्थिति रहेको थियो । ब्यापारिक रिपोर्ट सार्वजनिक गरेपछि वितरक शाहीले भने ‘दशैँ यता हलमा नेपाली चलचित्रको व्यापार शुन्य जस्तै थियो । आशा गरिएका चलचित्रले पनि लगानी रिकभर गर्न नसक्दा चिन्ताको विषय बनेको थियो । ‘सेन्टी भाइरस’ले पुन: हलसम्म दर्शकको भिड जम्मा गर्यो । यसलाई सुपरहिटको व्यापार मान्दा हुन्छ ।’

‘प्रोडक्सन र पब्लिसिटीसहित चलचित्रको कुल लागत २ करोड ८५ लाख रहेको छ । यसमा बक्सअफिस बाहेक विदेश राइट्सबाट १ करोड १५ लाख आएको छ । भने, डिजिटल राइट्स ४५ लाखमा विक्री भएको थियो । त्यसैले हामीले लगभग लगानी सुरक्षित गरिसकेका छौँ । बाँकीको व्यापार नाफाको हुनेछ ।’ धुर्मुसले भने ।

चलचित्रले लगानी उठाएर कमाएको नाफाको ५० प्रतिशत रकम चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिदैछ । यसमा बक्सअफिसको मात्र नभएर सम्पूर्ण व्यापारको नाफा सामेल हुने कलाकार कट्टेलले प्रष्ट पारे ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेलसँगै दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्री, राजाराम पौडेललगायतको मुख्य भूमिका छ । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्मित चलचित्रमा डिन्डू लामा ह्याल्मो र फुर्पा ह्याल्मोको लगानी छ । चलचित्र दोश्रो सातामा पनि पहिलो साताको जस्तै सबै सिनेमा घरमा प्रदर्शनरत रहेको छ ।