‘ए मेरो हजुर ४’ फ्लोरमा, अनमोल र सुहानाको जोडी फेरी


सेलिब्रेटी नेपाल

काठमाडौँ:अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’को शुभ साइत सम्पन्न गरिएको छ शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन समेत सुरु गरिएको छ । शुभसाइतमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापासहित चलचित्रको टिम नै उपस्थित थियो ।

काठमाडौँमा केहि दृश्य खिचेर युनिट आजै पोखरा लाग्नेछ । पोखरामा १० र काठमाडौँ/ललितपुरमा चलचित्रको ३० दिने छायांकन सेड्युल तय गरिएको छ । यस्तै अमेरिका, युरोप र ओमानमा चलचित्रको गीत खिचिनेछ ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्र आगामी वर्षको फूलपातीमा प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ । झरनाकै निर्देशनमा बनेका ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट भएका थिए । त्यसैले ‘ए मेरो हजुर ४’ले पनि त्यस्तै सफलता पाउने आशा गरिएको छ । चलचित्रमा अनमोल र सुहानाले दोस्रो पटक जोडी बाँध्दैछन् । ‘ए मेरो हजुर ३’मा यस जोडीलाई अत्याधिक रुचाइएको थियो ।