रंगशालालाई सहयोग,‘सेन्टी भाइरस’ हेर्न हल नै बूक


सेलिब्रेटी नेपाल

काठमाडौँ: शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले हेरेका छन् । विहिबार ओलम्पियन दीपक विष्टको नेतृत्वमा बानेश्वरको वान सिनेमाजको दिउँसो १२ बजेको शो बूक गरेर खेलाडीले चलचित्र ‘सेन्टी भाइरस’ हेरेका हुन् ।

चलचित्र हेर्ने क्रममा खेलकुद संघका अध्यक्ष दीपक श्रेष्ठले धुर्मुस-सुन्तली फाउन्डेसनलाई ६० हजार नगद हस्तान्तरण गरे । ‘खेलाडी कै लागि भनेर धुर्मुस-सुन्तलीले जुन रंगशाला निर्माणको लागि अगाडी बढ्नु भएको छ, त्यो साच्चिकै महान कार्य हो । र, यस महान कार्यमा खेलाडीको नाताले हातेमालो गर्ने मौका मिलेको थिएन । आज उहाँहरुले उक्त रंगशाला निर्माण अभियानका लागि बनाउनु भएको ‘सेन्टी भाइरस’ हेरेरै भएपनि यस महान कार्यमा एउटा इट्टा थप्ने काम गर्न पाएका छौँ । यस कार्यमा सबैले हातमालो गरौँ ।’ अध्यक्ष विष्टले आग्रह गरे ।

हल नै बुक गरेर रंगशाला निर्माण अभियानमा सहयोग पुर्याउने सम्पूर्ण खेलाडी प्रति सिताराम कट्टेल ‘धुर्मुस’ले कृतज्ञता प्रकट गरे । ‘यो अभियान खेलाडी कै लागि हो । भोलि रंगशाला ठडिदा मलाई भन्दा धेरै खेलाडीलाई गर्व महसुस हुनेछ । साथै, यस अभियानमा हातेमालो गर्नु हुने सबैले निर्धक्क भन्न पाउनु हुनेछ, ‘रंगशाला निर्माणमा मेरो पनि पसिना परेको छ’, र रंगशाला निर्माणमा सहकार्य गरिदिनु भएकोमा सबै खेलाडी प्रति नमन गर्न चाहन्छु ।’ धुर्मुसले भने ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले कमाएको मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिदैछ । त्यसैले अहिले बिभिन्न संघसंस्था, विद्यालय र व्यक्ति विशेषले हल नै बुक गरेर यस अभियानमा हातेमालो गरिरहेका छन् ।