जात्रा निर्माताले घोषणा गरे ‘के घर के डेरा’


सेलिब्रेटी नेपाल

काठमाण्डौ: पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’ को नाम सापटी लिएर सुव्रतराज आचार्यले निर्देशन गर्ने चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो । चलचित्रमा भर्सटायल अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको अभिनय रहने भएको छ ।

यसअघि उनीहरुले चलचित्र ‘जात्रै जात्रा’ मा सँगै काम गरेका थिए । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा अभिनेत्री वर्षा राउतको पनि अभिनय रहनेछ । दयाहाङ र विपिनसँग उनले यसअघि ‘जात्रै जात्रा’ मा स्क्रिन साझेदार गरेकी थिइन् । चलचित्रमा लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ ।

‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन् । त्यस्तै, यम प्रसाद ओली सह-निर्मातामा रहेका छन् । ‘हरि’ चलचित्रका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको चलचित्रको कन्सेप्ट निर्माता सिंगे लामाको हो । सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ चलचित्र निर्माण गरिसकेका छन् ।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने चलचित्रलाई दिर्घ वीर गुरुङले खिच्ने जिम्मेवारी पाएका छन् । यस्तै, मित्र डि. गुरुङको सम्पादन रहने चलचित्रमा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ । चलचित्रलाई रोहित-रत्न (आरआर) ले वितरण गर्दैछन् ।

‘के घर के डेरा’ निर्देशक आचार्यको तेस्रो प्रोजेक्ट हो । यसअघि उनले ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए भने दर्जनौँ हिट गीतको भिडियो समेत निर्देशन गरेका छन् । उनले अघिल्ला चलचित्रमा आफूबाट भएका कमी कमजोरी यो चलचित्रमा सुधार गर्ने बताए । त्यस्तै, अभिनेताद्वय दयाहाङ र विपिनले चलचित्रको कथा र आफ्नो भूमिका मन परेका कारण काम गर्न राजी भएको बताए । अभिनेत्री वर्षाले चलचित्रलाई लिएर आफु उत्साहित रहेको बताइन् ।