निफमा हलिउड निर्माताको डिजिटल स्ट्रिमिङ वर्कसप


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा फागुनको १ देखि ५ गतेसम्म काठमाडौंको राष्ट्रि सभागृहमा हुन गइरहेको तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)मा हलिउड फिल्ममेकरले डिजिटल स्ट्रिमिङ सम्बन्धी वर्कसप दिने भएका छन् । ‘फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकमा हुने वर्कसपमा हलिउडसँगै नेपालका फिल्ममेकरले पनि आफ्नो अनुभव सेयर गर्नेछन् ।

फिल्म फेस्टिभलका निर्देशक केपी पाठकले हलिउडबाट ल्यारी कासानोफ , ज्याक स्टेन्ज र जोयलोन होफ आउने पक्का भएको बताए । ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन ः फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्म निर्माण गरेका छन् । जोयलोन होफ भने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमा काम गरेका व्यक्ति हुन् ।

उनीहरु तीनै जनाले स्ट्रिमिङ साइटका बारेमा जानकारी दिने निर्देशक पाठकले बताए । ‘स्ट्रिमिङ साइटलाई केन्द्रमा राखेर तीनैजनाले विश्वको अनुभव नेपाली फिल्ममेकरलाई बाँड्नु हुनेछ । नेपालमा सक्रियतापूर्वक काम गरिरहेका लेखक, निर्माता, निर्देशकले यो वर्कसपबाट धेरै फाइदा लिनुहुनेछ भन्ने विश्वास छ,’ पाठकले भने ।

दिनभर चल्ने वर्कसपमा ज्याक स्टेन्जले पटकथा लेखनको छोटो कक्षासमेत लिनेछन् भने एउटा सेसनमा निश्चल बस्नेत, नकिम उद्दिन र नम्रता श्रेष्ठ स्थानीय फिल्म विश्वबजारमा पुग्न खेपिरहेका चुनौतीका बारेमा हलिउडका फिल्ममेकरसँग बहसमा सहभागी हुनेछन् । दिनभर चल्ने सबै सेसनलाई फिल्ममेकर किरणभक्त जोशीले सहजीकरण गर्नेछन् । जोशी हलिउड स्टुडियो वाल्ट डिज्नेमा टेक्निकल डाइरक्टरको रुपमा काम गरेका फिल्ममेकर हुन् ।
हलिउड फिल्ममेकरको सेसन भने राष्ट्रिय सभा गृहमा नभइ लाजिम्पाटको ¥याडिसन होटलमा हुनेछ । वर्कसपमा सहभागी हुन चाहाने फिल्मकर्मीले पहिले नै नाम दर्ता गर्नुपर्नेछ ।