सौगात र सृष्टीको माइकल अधिकारी नयाँ बर्षमा !


सेलिब्रेटी नेपाल

काठमाडौँ;पछिल्लो समय चलचित्र निर्माणसँगै यसको प्रदर्शनले पनि चर्चा पाउने गर्छ । विशेष गरेर विदाको समय र बिसेष चाड पर्व पारेर निर्माताहरु चलचित्र प्रदर्शन गर्न तत्पर देखिन्छन । नयाँ वर्षको डेटमा झन् धेरै निर्माताहरु आफ्नो चलचित्र प्रदर्शन गर्न लागि पर्ने गर्छन । भनिन्छ यो डेटमा पनि विशेष गरेर वैशाख १ मा नेपाली चलचित्रले दर्शक पाउछन । पाएको शो अधिकांस भरिन्छन । यसैले गर्दा पनि यो डेटमा आँखा नलगाउने निर्माता कमै हुन्छन् , तर रिलिज केहि मात्र हुन्छ ।

यसवर्ष पनि नयाँ वर्षको लागि प्रेम गीत ३ र चपली हाइट ३ ले प्रदर्शन डेट घोषणा गरिसकेका छन् । यसमै थपिने भएको छ , चलचित्र माइकल अधिकारी । सौगात मल्ल र सृष्टी श्रेष्ठ प्रेममा परेसंगै चलचित्रमा जोडी बनेर देखि क्रम बढ्दो छ । यसै जोडीले नयाँ चलचित्र ‘माइकल अधिकारी’ मा पनि निरन्तरता पाएको छ । गोपीकृष्ण मुभिजले निर्माण गर्ने यो चलचित्र सेरोगेसी (भाडाको काख) मुद्दामा बन्ने छ । चलचित्रलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र जीजीएले वितरण गर्नेछ भने उपत्यका बाहिर श्रीकृष्ण फिल्म्सले ।

वितरणको जिम्मा लगाएसँगै चलचित्र चैत्रको अन्तिम साता प्रदर्शनमा ल्याउने कसरतमा निर्माण टिम लागेको छ । आउँदो माघको पहिलो साताबाट छायाँकनमा जाने चलचित्रलाई रञ्‍जित रौनियारले निर्देशन गर्दैछन् भने , कथा पनि उनैले लेखेका हुन् । चलचित्र वितरणको जिम्मा पाएको कम्पनि रीच इन्टरटेनमेन्टका करण श्रेष्ठले चलचित्र चैत्रको अन्तिम साता प्रदर्शन गर्न लागेको जानकारी दिए ।

करणले जीजीएसँग मिलेर चैत्र २८ को लागि अनमोल केसीको अभिनय रहने भनिएको चलचित्र‘धुपौरे’ रिलिज गर्ने तयारी गरिरहेका थिए । तर , उक्त चलचित्र अहिले नबन्ने भएपछी उक्त डेटमा ‘माइकल अधिकारी’ ल्याउने तयारी गरेका हुन् ।