भट्टराई र क्षेत्रीको एकसाथ राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली चलचित्रका बरिस्ट कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको एकसाथ राष्ट्रिय सम्मानका साथ सोमबार अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले दुबैलाई राष्ट्रिय सम्मान दिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईलाई उनका १५ वर्षीय छोरा मिस्क भट्टराईले दागबत्ती दिएका थिए । भने, कलाकार क्षेत्रीलाई पनि छोरा रिनेश बस्नेतले दागबत्ति दिए ।

कलाकारद्वय भट्टराई र क्षेत्रीलाई श्रद्धाञ्जली दिन दिउँसो चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको थियो । उनीहरुलाई श्रद्धाञ्जली दिनका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसँगै नेपाली चलचित्रका कलाकार, निर्माता, निर्देशक, प्राविधिकहरु बोर्ड पुगेका थिए । त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि दुबैको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राखिएको थियो ।

दुई दिनको अन्तरमा निधन भएका कलाकारद्वयलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँगै थुप्रै कलाकारहरु शुभचिन्तकहरुको आर्यघाटमा ठूलो भीड लागेको थियो ।

दर्जनौं नेपाली चलचित्रमा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्री गएको शनिबार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए । श्रीमती मलेशियाबाट आइतबार दिउँसो मात्र नेपाल ओर्लिएका कारण उनको सोमबार पोष्टमार्टम गरेर अन्त्येष्टि गरिएको हो ।

त्यस्तै, निर्माता तथा कलाकार केशव भट्टराईको आइतबार साँझ १०ः३० बजे हृदयघातका कारण निधन भएको हो । उपचारका लागि काठमाडौंको चाबहिलस्थित ओम अस्पताल पुर्‍याउँदा उनको निधन भएको थियो । ५४ बर्षको उमेरमा निधन भएका उनले दर्जनौँ चलचित्रमा अभिनयसँगै ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’ लगायतका चलचित्र निर्माण पनि गरेका थिए । बिगत ८ महिनादेखि चलचित्र विकाश बोर्डका अध्यक्ष रहेका भट्टराई यस अघि नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष थिए । नेपाल विधुत प्राधिकरणमा दुई दशक भन्दा लामो सेवा गरेका भट्टराईले बोर्ड अध्यक्ष भएपछि ८ महिना अघि प्राधिकरणबाट अबकास लिएका थिए ।

तस्बिर:आर्यन बिमली र सुमन न्यौपाने