स्वरूप र सुरक्षाको डेब्यु चलचित्र ‘सुस्केरा’ प्रदर्शन मिति सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: साम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्र ’सुस्केरा’ आउँदो पौष १८ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘लेटर’ बाट निर्देशन यात्रा सुरु गरेका साम्तेनले यसको छायाँकन तिन वर्ष अगाडी नै सकाएका थिए । प्राविधिक कारणले रिलिजमा ढिलाई भएतापनि यसले चलचित्रको विषयवस्तुलाई असर नगर्ने निर्माण पक्षले बताएका छन् ।

चलचित्रमा सुरक्षा पन्त र स्वरूप पुरुष ढकालको मुख्य भूमिका रहेका छ । सुरक्षालाई नायिकाको रुपमा ब्रेक दिएको चलचित्र मात्र होइन , गायक रुपमा चिनिदै गरेका स्वरूपलाई ठुलो पर्दा नायक बनाउने श्रेय पनि यसै चलचित्रलाई जान्छ । एसपी ढकाल र सिके ढकालको निर्माणमा बनेको यस चलचित्रका लेखक पनि साम्तेन नै हुन् । यसमा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि अभिनय रहेकोछ ।‘सुस्केरा’ पूर्णत प्रेमकथामा आधारित चलचित्र रहेको निर्देशक भुटियाले बताएका छन् ।

‘लभ भन्नेबितिकै जुन सोचाइ हाम्रो छ, त्यसभन्दा केही फरक गर्ने प्रयास चलचित्रमा गरिएको छ’ निर्देशक साम्तेनले भने । थपे, ‘प्रेम प्राप्तिमा आउने भोगाइ नै फिल्मको कथा हो ।’ छक्का पञ्जा २ मार्फत पर्दामा झुल्किसकेका स्वरूपले सुस्केरा गर्नु अगाडी हिन्दी सिरियल ’गुमराह’ मा समेत काम गरिसकेका थिए । उनले चलचित्र खेल्न आएको प्रस्तावलाई नकार्न नसकेर अभिनयमा आएको बताए । ‘मुम्बईमा बसेर सिकेको अभिनय र हिन्दी सिरियल ‘गुमराह’ मा अभिनय गर्दा पाएको अनुभवले नै मलाई यस चलचित्रमा अभिनेता बन्न उत्साहित भएको हुँ’ स्वरूपले भने । केहि प्राविधिक कारणले रोकिएको चलचित्र सोमबार वितरण सम्झौता भएसँगै पौष १८ बाट दर्शकमाझ आउने पक्का भएको हो । चलचित्रलाई काठमाडौंमा करण क्रेजी श्रेष्ठको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।