मोफसल यात्रामा ‘पोई पर्‍यो काले’


सेलिब्रेटी नेपाल

काठमाडौँ: यही कार्तिक आठ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पोई पर्‍यो काले’ को अहिले धमाधम प्रचार प्रसार चलिरहेको छ । प्रदर्शन हुन एक हप्ता मात्र बाँकी रहदा चलचित्र युनिट शुक्रबार चितवन पुगेको छ । चलचित्रको भरतपुरमा शुक्रबार पत्रकार सम्मेलन सम्पन्न भएको छ । उक्त पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक शिशिर राणाले ‘पोई पर्‍यो काले’ कमेडी शैलीको सामाजिक कथाबस्तुमा आधारित भएको बताएका छन् । उनले चलचित्र कमेडी जनरामा भए पनि यसमा सामाजिक कथा प्रस्तुत गर्न खोजिएको बताए ।

उनले समाजमा मानिसको बाहिरी रुप मात्र हेरिने गलत प्रवृती माथि चलचित्र निर्माण गरिएको बताए । मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश चलचित्रले बोकेको उनले बताए । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको उनले बताए । चलचित्रमा राणाकै कथा रहेको छ ।

चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले चलचित्रका निर्माता राजिब गुरुङ उर्फ दिपक मनाङेलाई समाजले डन भने पनि उनी वास्तबिक जीवनमा त्यस्तो नभएको बताए । उनले दिपक मनाङेलाई डन भन्न नमिल्ने बताए । चलचित्रको सुटिङको दौरान पनि कसैले उनलाई डनको रुपमा नलिएको उनले बताए । नेपालीले चलचित्रको लगानी बारे भने खुलाउन चाहेनन् ।

चलचित्रकी अभिनेत्री पूजा शर्माले आफुले गरेको अन्य चलचित्र भन्दा ‘पोई पर्‍यो काले’ फरक फरक किसिमको चलचित्र भएको बताईन् । लभ स्टोरी जनराको चलचित्र गरिरहेको अवस्थामा ‘पोई पर्‍यो काले’ बाट फरक किसिमको चलचित्रमा काम गर्ने अवसर पाएको पूजाले बताईन् । यस्तै पूजाले अन्य नायकहरु भन्दा आकाश श्रेष्ठसँग काम गर्दा केमेस्ट्री राम्रो बनेको बताईन् । आकाशसँगको केमेस्ट्री राम्रो भएकै कारण दर्शकहरुले मन पराएको र त्यही कारण बजारमा आकाशसँग प्रेममा रहेको हल्ला चलेको उनको भनाई थियो । तर बजारमा चलेको हल्ला जस्तो आफुहरु प्रेममा भने नरहेको पूजाले बताईन् ।

अभिनेता आकाश श्रेष्ठले लभ स्टोरी जनराबाट कमेडी जनराको चलचित्रमा काम गर्दा धेरै चुनौती महसुस गरेको बताए । उनले पहिलो पटक कमेडी जनराको चलचित्रमा काम गर्दा धेरै नै मेहनत गरेको र त्यसको फल पनि राम्रै पाउने विश्वास व्यक्त गरे । यस्तै उनले सधैं झै यस पटक पनि चितवनबाट राम्रो माया र साथको अपेक्षा रहेको बताए ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा र आकाश सँगै सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ ।चलचित्र नायिका पूजा शर्मा र नायक सौगात मल्लको वरिपरी घुमेको छ । चलचित्रको केही दिन अघी सार्वजनिक भएको ट्रेलरले दर्शकलाई उत्सकुता पैदा गरेको छ ।तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिने कुरामा यसको निर्माणपक्ष विश्वस्त देखिएको छ ।

चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् ।शिव ढकालको छायांकन रहने चलचित्रमा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहेको छ ।