सेलिब्रेटी नेपाल
काठमाण्डौ: लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले चलचित्र निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच एकेमेडीको निर्माण रहने चलचित्र ‘म’को औपचारिक निर्माण घोषणा गरिएको छ । चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । उनले पहिलो पटक फिचर चलचित्र निर्देशनमा हात हाल्न लागेका हुन् ।
कान्तिपुर चलचित्र एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका कथामा आधारित भएर बन्ने चलचित्रको छायांकन भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ । उनभ श्रेष्ठ र सम्पन्न ढकाल बाल कलाकार रहने चलचित्रमा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइलीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
सहायक भूमिकामा पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । विजय लामा र सरिता लामिछाने बाहेक यो चलचित्रमा अभिनय गर्ने अन्य कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका तथा प्रशिक्षण लिएका विद्यार्थीहरु हुन् । तेन्जिन पाल्देनले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् । उनी पनि उक्त एकेडेमीका पूर्व विद्यार्थी हुन् ।
‘म’ मा जितेन लेप्चाको गीत रहनेछ । चलचित्रमा कवितामाथि पनि संगीत भरिने बताइएको छ । सम्भवतः नेपाली चलचित्रमा यो पहिलो पटक फरक प्रयोग गरिन लागिएको हो । बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन् । चलचित्रको मुख्य सहायक निर्देशकमा आकाश उखेडा रहेका छन् ।
चलचित्रका लेखक समेत रहेका प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न पनि एकेडेमीले चलचित्र निर्माण गर्न लागेको बताए । चलचित्र ‘म’ लाई केही पृथक बनाउने प्रयास आफ्नो रहने निर्देशक सेनको भनाई । अभिनेत्री द्वय कुशुम र रेविकाले आफूले अध्ययन गरेको एकेडेमीले निर्माण गर्न लागेको चलचित्रमा अभिनय गर्नका लागि निकै उत्साहित रहेको बताए ।