‘एकलब्य’ को लोकलयमा बनेको गीत ‘पूर्वै चल्नेया रेल’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: आगामी साउन १० गते बाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एकलब्य’ ले प्रदर्शनी मिति नजिकिँदै गर्दा गीत सार्बजनिक गरेको छ । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक लयमा आधारित ‘पूर्वै चल्नेया रेल’ गीतको भिडियो सार्बजनिक गरिएको हो ।

सार्बजनिक गीतमा चलचित्रका अभिनेता सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईको नृत्य रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतको नृत्य पनि लोक शैलीकै छ । जसमा एक सय भन्दा बढी कोरस कलाकारलाई गहतराजले नृत्य गराएका छन् ।

चलचित्र ‘एकलब्य’ लाई अनमोल शर्माले निर्देशन गरेका हुन् । दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । पारिवारिक प्रेम कथामा यो चलचित्र आधारित रहेको निर्देशक शर्माले जानकारी गराए ।

यो चलचित्रमा सोनामसँगै ओसिन भट्टराई, महिमा सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनको अभिनय रहेको छ । चलचित्रलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।