चलचित्र कलाकार संघको चुनाव आज, कसले पाउला नेतृत्व ?


काठमाडौं – आज (शनिवार) नेपाल चलचित्र कलाकार संघको चुनाव हुँदैछ । राजधानीको आर्मी अफिसर्स क्लबमा हुने संघको साधारणसभा पश्चात हुने चुनावबाट संघले आगामी तीन वर्षिय कार्यकालका लागि नयाँ नेतृत्व पाउँदैछ ।

संघको अध्यक्ष पदका लागि अभिनेत्री सरिता लामिछाने र पुराना अभिनेता रविन्द्र खड्काबिच प्रतिष्पर्धा हुँदैछ ।

त्यस्तै संघको उपाध्यक्षमा मनोज केसी, सानुकुमार ताम्राकार, विनोदकुमार भट्टराई र रेजिना उप्रेती भिड्दैछन् । महासचिवमा चेतबहादुर सिंह र सञ्जय खतिवडाको प्रतिस्पर्धा हुनेछ । सचिव पदनमा ३ जनाको उम्मेद्वारी परेको छ । कविता गेलाल, राजकुमार शाह र पनाह अधिकारी सचिव पदमा प्रतिस्पर्धा गर्नेछन् । कोषाध्यक्ष पदमा भने कलाकार सुनिल कटुवाल निर्विरोध चयन भएका छन् ।

त्यस्तै सहकोषाध्यक्षमा अभिनेत्री पवित्रा आचार्य र डीबि बम्जनको प्रतिस्पर्धा हुनेछ । सदस्य पदका लागि १२ जना कलाकारले उम्मेदवारी दिएका छन् ।

सङ्घको चुनावमा यस पटक दुई अध्यक्ष उम्मेद्वार सरिता र अभिनेता रविन्द्रको पक्षमा कलाकारहरु बाँडिएका छन् ।

यी दुवै उम्मेद्वार बलिया मानिन्छन् । रविन्द्र कलाकारको समस्यामा लागिपरिरहने अभिनेता हुन् । उनलाई पुराना कलाकारको साथ बढी देखिन्छ । यता सरिता पनि कलाकारको समस्यामा लागिरहने अभिनेत्रीमा पर्छिन् । उनलाई विशेषगरी नयाँ कलाकार र महिला कलाकारको साथ बढी देखिन्छ ।

नेपाल चलचित्र कलाकार संघको नेतृत्वमा सरिता र रविन्द्रमा को पुग्ने हुन् त्यसका लागि साँझसम्म प्रतिक्षा गर्नुको विकल्प छैन् ।