मीनबहादुरले विश्वका ५२ फिल्मी परियोजना उछिन्दै जिते ६६ लाख


सेलिब्रेटी नेपाल

काठमाडौँ: ५२ वटा फिल्मी परियोजनालाई उछिन्दै नेपाली फिल्म मेकर्स मीनबहादुर भामले एक नर्वेजियन पुरस्कार जितेका छन् । फ्रान्सको पेरिसमा भइरहेको कान्स फिल्म फेस्टिभलमा आफ्नो आगामी फिल्मका लागि विश्वभरबाट ५३ वटा निवेदन आएका थिए ।

जसमध्ये नेपाली फिल्म मेकर्स मीनबहादुरले द इयर अफ कोल्ड (चिसो वर्ष) नामक फिल्म परियोजनामार्फत नर्वेजियन सरफन्ड पुरस्कार आफ्नो पोल्टामा पारे । जसको पुरस्कार राशी ६० हजार अमेरिकी डलर अर्थात ६६ लाख ८४ हजार नेपाली रुपैयाँ रहेको छ । मीनबहादुर यसअघि थुप्रै अन्तर्राराष्ट्रिय अवार्ड हात पार्ने चलचित्र ‘कालो पोथी’का निर्देशकसमेत हुन् ।

चिसो वर्षमा आफ्ना हराएका श्रीमान खोज्नका लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्रामा निस्कदा बद्लिएको उनीहरुको जीवनको बारेमा कथा निर्माण गरिएको छ । चलचित्र निर्माणाधीन नै छ ।

यसअघि पनि उक्त चलचित्रको स्क्रिप्टका लागि मिन भामले १ सय १४ वटा आवेदनलाई पछि पार्दै एसियन सिनेमा फन्ड जितेका थिए । जसको राशी १० हजार अमेरिकी डलर थियो । यस्तै चिसो वर्षले यसअघि स्वीटजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार यूरो अर्थात झण्डै ८ लाख नेपाली रुपैयाँ जितेको थियो । यसैगरी अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्रीले अवार्ड जितेका छन् ।