सुहानाको बर्थडेमा, ‘ए मेरो हजुर ३’ को सफलताको सेलिब्रेसन


सेलिब्रेटी नेपाल

काठमाडौँ: ‘ए मेरो हजुर ३’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी सुहाना थापाको २१ औँ जन्मदिन संगै चलचित्र ‘ए मेरो हजुर ३’ले राजधानीमा सक्सेस पार्टी सेलेब्रेसन गरेको छ । डेब्यु गर्ल सुहाना थापाको जन्मदिनको अवसर पारेर गरिएको सेलेब्रेसनमा केहि चलचित्रकर्मी, पत्रकार, नजिकका आफन्त र ‘ए मेरो हजुर ३’को टिमको उपस्थितिमा सम्पन्न पार्टी अबेरसम्म चलेको थियो । सुहानाको २१ औँ जन्मदिनमा झरना थापाले करिअर सुरु गरेको पनि २१ वर्ष नै पुगेको छ । त्यस्तै सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टले चलचित्र निर्माणको पनि २१ वर्ष पुरा गर्यो । छोरी सुहाना जन्मिएपछि झरनाले होम प्रोडक्सनको सिनेमा ‘धर्म संकट’बाट लिड हिरोइनमा डेब्यु गरेकी थिइन् । जुन चलचित्र सुनिलकुमारले निर्माण गरेका थिए ।

निर्देशक दीपाश्री निरौला, अभिनेताद्वय भुवन केसी र रमेश उप्रेतीले सुहानाको उज्ज्वल भविष्यको कामना गरे । झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ३’मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रविन्द्र झा, रूपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रेअर राई, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

एक महिने लामो प्रदर्शनमा चलचित्रले अलनेपाल नौ करोड पचास लाख माथिको व्यापार गरिसकेको छ । ‘छक्का पन्जा ३’ पछाडी सुस्ताएको व्यापारलाई उकास्ने क्रममा ‘ए मेरो हजुर ३’ले केहि मल्टीप्लेक्स र सिंगल स्क्रिनमा पाँचौ साताको यात्रा तय गर्दैछ । चलचित्रले केहि हलमा ५१ दिन मनाउने संकेत पनि देखाएको छ ।