‘घामको छायाँ’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: लोक दोहोरी गीत ‘घामको छायाँ’ राजधानीमा एक समारोहका बिच बिमोचन गरिएको छ । शुक्रबार आयोजीत कार्यक्रममा प्रमुख अतिथि नेपाली लोकगीत क्षेत्रका लोकप्रिय गायक कुमार बस्नेतले भिडियो प्रिमियर सँगै गीतको बिमोचन गरेका हुन् ।

मेलिना राई र लक्ष्मण मगरको स्वरमा रहेको उक्त गीतबारे बोल्दै प्रमुख अतिथि बस्नेतले पछिल्लो समयका लोकगीतको क्षेत्रमा लागेका युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले गीतसंगीतको क्षेत्रमा प्रविधिले फड्को मारेसँगै बिकृति पनि आएको बताए । उनी भन्छन् ‘पहिले र अहिलेको समयमा धेरै अन्तर छ । हाम्रो बेलामा गीत रेकर्ड देखी भिडियो बनाउन निकै दुख थियो, अहिलेको प्रविधिले धेरै सजिलो बनाइदिएको छ । यसरी नै युवाहरु लोकगीत क्षेत्रमा लाग्ने हो भने लोकगीत बाँचिरहन्छ ।’ बस्नेतका ‘छोरी भन्दा आमा तरुनी, उनकै छोरी तरुनी, हेर्दा राम्रो’ लगायतका दर्जनौं हिट गीत छन् ।

गीतमा मिन प्रकाश ओलीले संगीत भरेका छन् भने रमेश बोहराको शब्द छन् । गीतको एजेन्ज केबि भण्डारीले गरेका हुन् । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियोमा भुपेन्द्र डाँगी र सृष्टि खड्कालाई फिचरिङ गरिएको छ । प्रकाश खड्काले खिचेको भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् भने सम्पादनको काम मिलन विश्वकर्माले गरेका छन् ।

गीतका संगीतकार मिन प्रकाशले पछिल्लो समय युवापुस्ताले मन पराउने प्रकारकै गीत बनेको बताए । यस्तै भिडियोमा अभिनय गरेका कलाकार भुपेन्द्र डाँगीले आफूले सक्दो राम्रो गर्ने प्रयास गरेको बताए । भिडियोका निर्देशक बिक्रमले कलाकारहरुको उत्कृष्ट कामले भिडियो राम्रो बनेको भन्दै कलाकार र प्राविधिक टिमलाई धन्यवाद दिए । भिडियोका निर्माताद्धय रुद्र थापा र हरि श्रेष्ठ दर्शक तथा स्रोताले गीत मन पराउनेमा आशावादी देखिन्छन् । कार्यक्रम गोपिकृष्ण चापागाईंले सञ्चालन गरेका थिए ।