सेलिब्रेटी नेपाल
काठमाडौँ : अभिनेता सरोज खनालको काठमाडौँ स्थित दरबारमार्गमा ‘माला आर्टस एकाडेमी’ को शुभारम्भ गरिएको छ। चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एकाडेमी सञ्चालनमा ल्याएको एकाडेमीको प्रबन्ध निर्देशकसमेत रहेका अभिनेता खनालले बताए।

सो क्रममा कवि तथा गीतकार वसन्त चौधरीले कलाकार देश चिनाउने सच्चा राजदूत भएको भन्दै एकाडेमीले कला क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। नाटककार हरिहर शर्माले राष्ट्रको वास्तविक समृद्धि नै सांस्कृतिक समृद्धि भएको उल्लेख गर्दै संस्कृति, कला, भाषा र साहित्यलाई समृद्धि बनाउनुपर्नेमा जोड दिए। यसका लागि अध्ययनको खाँचो रहेको र यस्तै प्रतिष्ठानबाट दक्ष कलाकार उत्पादन भएपछि मात्रै कला, साहित्यलाई समृद्ध पार्न सकिने उनले औँल्याए।
सो क्रममा कलाकार शिव श्रेष्ठ, गौरी मल्ल, सुनील थापालगायतले प्रतिष्पर्धात्मक रुपमा अगाडि बढेको नेपाली चलचित्र क्षेत्रमा दक्षजनशक्ति उत्पादनमा एकाडेमीको भूमिका महत्वपूर्ण हुने बताए। एकाडेमीका अध्यक्ष चन्द्रमाला शर्माले अभिनय कलालाई चुस्त बनाउन एकाडेमीले सहयोग गर्ने बताए। यस रंगकर्मी वीरेन्द्र हमाल र सुवर्ण थापाले नियमित कक्षा लिनेछन्। नीर शाह, हरिहर शर्मा, विकासराज आचार्य, गौरी मल्ल, सौगात मल्ल, न्य्हु बज्रचार्य, पुरूषोत्तम प्रधान, दिवाकर भट्टराईलगायत गेस्ट टिचरको रूपमा रहने छन्।


