श्रीमान श्रीमतीको झगडा र पराइको प्रवेशमा रुमलिएको मन्दिरा


सेलिब्रेटी नेपाल काठमाडौँ

एउटै घर भित्र सम्पूर्ण छायांकन सकाइएको चलचित्र ‘मन्दिरा’को प्रदर्शन मितिमा फेर बदल भएको छ। असार २ गते बाट प्रदर्शनमा आउने भनेर प्रचार गरिएको चलचित्र अब असार २३ गते बाट प्रदर्शनमा आउने भएको हो । दोस्रो चरणको स्थानीय चुनाबको मिति सरेको कारण चलचित्रको मिति पनि सारिएको हो बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको रिलिज मिति र अन्य चलचित्रको बारेमा जानकारी गरायो । कार्यक्रममा चलचित्रको नयाँ गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक दीपेश सापकोटाका अनुसार चलचित्र ‘मन्दिरा’ काठमाण्डौको परिवेशमा घुमेको कथा हो । श्रीमान्–श्रीमतिको झगडापछि घरमा तेश्रो व्यक्तिको प्रवेश कसरी हुन्छ र त्यसले समस्या निम्त्याउँछ भन्ने कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

यो चलचित्रमा नरेन खड्का, जेवीडीसी, प्रवण भुषाल, लक्ष्मी बस्नेत, राजन सुवेदी, संझना श्रीपाली, राजन ढुंगानाको साथमा नव–कलाकारद्धय विनि पोखरेली र विनिता ओलीको मुख्य भूमिका छ । भट्ट एन्ड सन्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको प्रस्तुतकर्ता हरि भट्ट हुन् । चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन बीसीको नृत्य निर्देशन, दयाराम पाण्डेको गीत, देव कोइमी राइको संगीत, अजित लामिछानेको पटकथा, उज्वल ढकालको सम्पादन छ । करुन अर्याल र उज्वल अर्याल निर्माता रहेको चलचित्रका सह–निर्माता सन्तोष सेढाई हुन् ।